तरलता खुम्चिएपछि व्यवस्थापनमा जुट्यो राष्ट्र बैंक, घटाउँदैछ ब्याजदर

लोकपथ
0
Shares

काठमाडौं –पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानी योग्य रकम) कसिलो बन्दै गएपछि बढ्न थालेको अन्तर बैंक ब्याजदर विस्तारै घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले बजारमा पुर्नकर्जा पठाएपछि अन्तर बैंक ब्याजदर केही मात्रामा घट्न थालेको हो।राष्ट्र बैंकले एकमुस्ट रुपमा १ खर्ब ४२ अर्ब २२ करोड रुपैयाँ पुर्नकर्जा स्वीकृत गरिसकेको छ । जसमध्ये गत साता मात्रै बैंकहरुले ९२ अर्ब रुपैयाँ पुर्नकर्जा उठाएका थिए । स्वीकृत पुर्नकर्जामा बैंकहरुले लैजान बाँकी ५० अर्ब रुपैयाँ छ । जसमध्ये यस साता ८ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट पुनः स्वीकृत भएको छ ।

हालसम्म बैंकहरुले स्वीकृत पुर्नकर्जामध्ये १ खर्ब रुपैयाँ लगिसकेका छन् । प्रणालीमा तरलता सहज हुँदा अन्तर बैंक ब्याजदर घट्ने र तरलता संकुचन हुँदै जाँदा ब्याजदर बढ्ने भएकाले अन्तर ब्याजदर घट्ने र बढ्ने भइरहने राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले बताए ।

बैंकहरुले अहिले ब्याज बढाइरहेको भएपनि राष्ट्र बैंकले त्यसको व्यवस्थापन गरिरहेकाले ब्याजदर सन्तुलनमा रहने उनले बताए । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा गत फागुन २६ गते ६२ खर्ब ४९ करोड रुपैयाँ तरलता थियो भने सो दिन अन्तर बैंक ब्याजदर ३.३९ प्रतिशत कायम थियो । फागुन २८ गते ६६ अर्ब ८२ करोड रुपैयाँ तरलता हुँदा ३.११ प्रतिशत अन्तर बैंक ब्याजदर कायम भएको थियो ।

चैत १ गते प्रणालीमा ३४ अर्ब ५५ करोड रुपैयाँ तरलता हुँदा ३.४० प्रतिशत अन्तर बैंक ब्याजदर, चैत २ गते ६३ अर्ब १० करोड रुपैयाँ तरलता हुँदा ३.४६ प्रतिशत ब्याजदर थियो । विहिबार (चैत ५ गते) अन्तर बैंक ब्याजदर १.३८ प्रतिशत थियो । बैंकिङ प्रणाली तरलता थपिँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर एक सातामा २.०१ प्रतिशत बिन्दुले घटेको छ ।

गत साताको बिहीवार अन्तर बैंक औषत ब्याजदर ३.३९ प्रतिशत थियो । जुन एक सातामै २.०१ प्रतिशत विन्दुले घटेर १.३८ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?