मर्स्याङ्दी नदीमा ट्रक खस्दा छ जनाको मृत्यु

लोकपथ
0
Shares

मनाङ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा छ जनाको ज्यान भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् । नियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमा र ३ जनाको उपचारको क्रमम ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ट्रक अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर मर्स्याङ्दी नदीमा खसेको बताए ।

अत्यधिक भारका कारण उकालोमा तान्न नसकेपछि ट्रक अनियन्त्रित भएर करिब ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ डिएसपी खड्काले भने, ‘मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत आठ यात्रु थिए । उनीहरूमध्ये छ जनाको मृत्यु भयो, दुइजना घाइते छन् ।

तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । यसैगरी गएराती नासों गाउँपालिका १ तालका तीन वर्षीय थियोन गुरुङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चालक सुमन तामाङ र सोही वडाका अन्दाजी ६ वर्षका निहल गुरुङ छन् । दुवैजना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लमजुङ जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?