एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज, एकिकृत कारोबार शुरु

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

आइतवार (आज) एक समारोहकाबीच एकिकृत कारोबार शुभारम्भ भएको हो ।

गत साउन ३२ गते यी दुई संस्थाबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई गत कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो ।

साथै दुई संस्थाबीच पुस १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार गाभ्ने/गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको माग ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो ।

उक्त वार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुरु भएको हो । उक्त शुभारम्भ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणी जोशीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा गरेका छन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।

मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १३५,००० भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ ।

साथै भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडी बढेको यस संस्था यो मर्जर पश्चात अझ बलियो र सबल भई उक्त लक्ष्य हासिल हुनेमा हामी पूर्ण विश्वस्त रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?