बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ

लोकपथ
0
Shares

रूपन्देही । तिलोत्तमा नगरपालिका ११ की वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरिया रहेका छन् । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ । युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ । जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो ।

आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?