सीमा नाकामा गम्भीर लापरवाही

लोकपथ
0
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि संक्रमणको दर भयावह बन्ने देखिएको छ ।

अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।

नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।

‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । १० चैत २०७६ देखि नेपाल–भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो ।

फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?