कोरोना संक्रमण : एक वर्षसम्म घटेन जोखिम, दोस्रो लहर आउनसक्ने चेतावनी !

लोकपथ
0
Shares

काठमाडौं – नेपालमा कोरोना संक्रमण ‘कोभिड – १९’ को जोखिम झनै बढेको छ। बितेको एक वर्ष कोरोनाको कहरका कारण थिलोथिलो भएको अर्थतन्त्र  तङ्ग्रीन लागेका बखत फेरि दोस्रो लहर आउनसक्ने चेतावनी बाहिरिएसँगे आम मानिसमा अब के फेरि लकडाउन हुन्छ ? भन्ने प्रश्नसँगै त्रास देखिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले ठीक एक वर्षअघि आजकै दिनबाट लकडाउन गरेको थियो। एक वर्षपछि आजको दिनमा आइपुग्दा कोरोनाको जोखिम घटेको छैन । स्थानीय प्रशासनले मेला पर्व नगर्न आग्रह गरिरहेको अवस्था छ । एक वर्षपछि छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला’ पछिल्लो समय कोरोना संक्रमितको ग्राफ बढेसँगै नेपालमा यो सवाल उठ्नु स्वभाविक हो । तर विज्ञको भनाई पूर्ववत् अवस्था जस्तो लकडाउन गर्ने वा फरक किसिमको मापदण्ड अपनाउने भन्ने छैन ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएकोमा हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन्। तरपनि त्यहाँ कोरोना संक्रमण अति नै तिव्र दरमा बढ्नुले अर्को चुनौति थपिदिएको छ ।

कोरोना संक्रमण दर बढ्दै जाँदा दोस्रो लहर आउन सक्ने संभावनाबारे राखेको प्रश्नमा जानकार भन्छन् :

पहिलो कुरा भिडभाड नियन्त्रण गर्नुपर्छ ।

दोस्रो कुरा कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ ।

सार्वजनिक स्थल, मेला पर्व, चाडलाई विशेष योजना बनाउनुपर्छ ।

सरकारले नागरिकसँग अपिल गर्नुपर्छ /बुझाउन सक्नुपर्छ ।

आम नागरिकले पनि आफ्नो कर्तव्य सम्झिएर आजको लापरवाहीका कारण भोलि अप्ठेरो पर्नसक्ने विषय बुझिदिनुपर्छ ।

जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।

खोप लगाएका कतिपय व्यक्तिमा फेरि संक्रमण देखिएको छ। खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। केहि दिन अघि मात्रै खोप लगाएका एकजना वृद्ध कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । खोपको पर्याप्तता पनि छैन । यस्तो अवस्थामा शुरुमै सर्तकता अपनाउने बाहेक अर्को विकल्प उपयुक्त हुन सक्दैन।

भारतमा तिव्र गतिमा बढेको कोरोनाको डर नेपालमा
कोरोना भ्याक्सिनको निर्माण, उपलब्धता र प्रयोगलाई बढाइरहेको भारतमा यतिबेला तीव्र रुपमा कोरोना संक्रमण बढेको कारण छ । कोरोना संक्रमणको आक्रान्त अवस्था झेल्नुपरेको एक वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झन्डै चार लाख पुग्नु सामान्य कुरो हुँदै होईन । तर संक्रमण बढेर दोस्रो लहरको चेतावनी दिइएको ठाउँबाट निर्बाध नेपालतर्फ आवतजावत हुने अवस्थाले अब पनि गम्भीर नहुने हो भने नेपालमा भयावह स्थिती सिर्जना हुनेतर्फ संकेत गरिरहेको छ ।

भारत यतिबेला दोस्रो लहरको भाइरसबाट आक्रान्त छ। भ्याक्सिन कोभिसिल्डको भारतमै समेत हाहाकार हुन थालेको छ । तर, नेपालमा समय छ तर यसलाई वास्ता गरिएको छैन ।


कोरोनाको दोस्रो लहर आएसँगै कोरोना संक्रमित तिव्र दरमा बढेका कारण भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको कारण नागरिकमा फेरि त्रास थपिएको छ । खुल्ला सीमाका कारण अघिल्लो वर्षजस्तै यसपटक पनि सरकारले भारतबाट नेपाल प्रवेशमा कडाइ गरेको छ । तर तयारी पर्याप्त छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टाइनमा राखिनेछ।

स्वास्‍थ्‍य सुरक्षा मापदण्ड पालना गर्न एयरलाइन्सलाई निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा प्रदायकहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ। कोभिड – १९ को संक्रमण फेरि छिमेकी मुलुकहरुमा बढ्न थालेको भन्दै प्राधिकरणले एयरलाइन्सहरुलाई भौतिक दुरी अनिवार्य कायम राख्‍न निर्देशन दिएको हो।

जोखिम बढ्दै : 
कोरोना महामारीको दोस्रो लहर बढ्दै गएको छ । यसका कारण अघिल्लो वर्षजस्तै गल्ती दोहोर्‍याउने हो भने भयावह स्थिती नल्याउला भन्न सकिन्न । आम मानिसमा यो त सरकारको काम हो भनेर हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले साार्वजनिक बसमा यात्रा गर्दासमेत मास्क लगाउने गरेका छैनन् । मास्कबिना नै समूहमा खुल्ला रुपमा सामान्य अवस्थाजसरी हिँडिरहेका छन् मानिसहरु । गाउँ टोलमा त झनै कसैले पनि मास्क लगाएको देखिँदैन । भेटघाट, सभा जुलुस, भेला जमघट भइ नै रहेको छ ।
बेमतलब गरिएका कारण र सामान्य सावधानीसमेत नअपनाइएको कारण अब कतै दोस्रो लहरले भयावह अवस्था ल्याउने त होईन भन्ने आशंका जन्माएको छ । कोरोनाको दोस्रो लहरबाट बच्नका लागि निकै सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

छिमेकी देश भारतमा संक्रमितको संख्या अत्याधिक बढ्दै जानु र नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिको बोलवाला रहनुले पनि कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो गरी फैलन सक्ने सम्भावना बढेर गएको हो ।

सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, -याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न विज्ञप्तिमा उल्लेख छ । भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।

नयाँ ‘भेरियन्ट’ को आशंका : 
मोरङमा फेरिकोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश – १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङमा पुनः नयाँ संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंकामा बल पुगेको हो । पुनः संक्रमण शुरु भएपछि भारतबाट भित्रिएको नयाँ भेरियन्टको कोरोना भाइरसको आशंका गरिएको छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’  भारतसँगै जोडिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना कुन ‘भेरियन्ट’ हो भन्ने यकिन भइसकेको छैन ।  लहर फेरि भयावह भएर आउन सक्नेतर्फ सचेत रहौँ ।

नयाँ लहरको खतरा : रोकथाम र नियन्त्रणलाई प्रभावकारी पार्न निर्देशन
सरकारले कोभिड – १९ को संक्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए।

यस्तै, स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय सरकारलाई नयाँ निर्देशन जारी गरेको छ। स्थानीय तहका स्वास्थ्य सम्बद्ध निकायलाई थप संक्रमण फैलन नदिन ‘केस इन्भेस्टिगेसन’ र ‘कन्ट्र्याक्ट ट्रेसिङ’मा जोड दिन,सीमावर्ती सबै प्रवेश विन्दुमा रहेका हेल्थ डेस्कमा स्क्रिनिङ गर्न, सम्भव भए कोभिड १९ को एन्टिजेन जाँचको पनि व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालय र हेल्थ डेस्कलाई भनिएको छ।

विज्ञ भन्छन्, ‘कमजोरी नदोहोर्‍याऔं’
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्ने बताए। ‘भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ–गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ। नयाँ वर्षसँगै कोरोना संक्रमणको दोस्रो लहर देखा पर्न सक्छ सक्नेतर्फ सचेत गराउँदै उनले भने, अघिल्लो वर्ष गरेका गल्ती नदोहोर्‍याई बेलैमा सचेत बन्नुपर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन मुलुकभित्र पनि संक्रमणविरुद्ध रणनीति तयार पारी अघि बढ्न ढिलो गर्न नहुने तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?