पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी

हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मुल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ शहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल शिलबन्दी गरेको हो ।

उक्त पसलले प्रत्यक पिउने पानीको जारलाई तोकेको मूल्य भन्दा बढी एक सय रुपैयाँमा बिक्रीवितरण गरेको भन्दै उपभोक्ताले खरिद गरेको पानीको जारको बिलसहित जिल्ला प्रशासनमा गुनासो गरेपछि प्रशासन कार्यालयको टोली अनुगमनका लागि पुगेको थियो ।

अनुगमनका क्रममा उक्त अनुगमन टोलीले पसल शिलबन्दी गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सो अनुगमन टोलीले हेटौँडा बजार क्षेत्रसहित नवलपुरको खाद्यान्न पसल, होटल गरी १८ वटा पसलको अनुगन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?