काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको प्रभाव कम गर्न भन्दै लकडाउन गरिएको एक वर्षपछि फेरि कोरोनाको जोखिम उस्तै त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ ।
छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा व्यापक रुपमा संक्रमण बढ्न थालेपछि सीमावर्ती भागहरू हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरु र खुल्ला सीमाको फाईदा उठाउँदै निर्वाध आउजाउ हुँदा नेपालमा झनै जोखिम बढेको हो ।
केहि दिनको संक्रमण दर हेर्दा पनि नेपालमा संक्रमित बढेको अवस्था छ । विज्ञहरुले अबको केहि दिनमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा बढ्ने भन्दै नजिकिएको होली पर्वमा भिडभाड गर्न नहुने भन्दै सुझाइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार नै एक सूचना जारी गर्दै आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। गृह मन्त्रालयले संक्रमण दर बढ्न सक्ने भन्दै सोको जोखिमबाट जोगिन परिपत्र समेत गरेको छ । कोरोना संक्रमणदर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउन समेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गर्दै संक्रमण दर उच्च भए त्यसको चेन ब्रेक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउनसक्ने बताउँछन् । उनले भने, ‘अघिल्ला वर्ष भएका कमजोरी सच्याएर यसपटक त्यस्तो हुन दिनुहुँदैन । तर जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्न उनले सुझाएका छन् । बरु यसपटक होलीमा भिडभाड नगरौँ । कडाई गरौँ सामाजिक दूरी कायम गरौँ । भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाउनै पर्छ । जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर थेग्न नसक्ने गरी बढ्छ । किनकी अघिल्लो वर्ष पनि भारतमा संक्रमण बढ्दा नेपालमा संक्रमणदर ह्वात्तै बढेको थियो ।’
भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, भेला, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको उनको भनाई छ ।
परिस्थितिअनुसार निर्णय हुने मन्त्रालय
सरकारले कोरोना सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताएको छ ।
अनिवार्य मास्क लगाउन अनुरोध
काठमाडौं लगायत भिडभाड हुने सहरमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधवार एक विज्ञप्तिमार्फत् सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो । प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
यसरी बचौँ :
कोरोना संक्रमण दर बढ्दै जाँदा दोस्रो लहर आउन सक्ने संभावनाबारे राखेको प्रश्नमा जानकार भन्छन् :
पहिलो कुरा भिडभाड नियन्त्रण गर्नुपर्छ ।
दोस्रो कुरा कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ ।
सार्वजनिक स्थल, मेला पर्व, चाडलाई विशेष योजना बनाउनुपर्छ ।
सरकारले नागरिकसँग अपिल गर्नुपर्छ /बुझाउन सक्नुपर्छ ।
आम नागरिकले पनि आफ्नो कर्तव्य सम्झिएर आजको लापरवाहीका कारण भोलि अप्ठेरो पर्नसक्ने विषय बुझिदिनुपर्छ ।
जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।
खोप लगाएका कतिपय व्यक्तिमा फेरि संक्रमण देखिएको छ। खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। केहि दिन अघि मात्रै खोप लगाएका एकजना वृद्ध कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । खोपको पर्याप्तता पनि छैन । यस्तो अवस्थामा शुरुमै सर्तकता अपनाउने बाहेक अर्को विकल्प उपयुक्त हुन सक्दैन।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्ने बताए। ‘भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ–गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ। नयाँ वर्षसँगै कोरोना संक्रमणको दोस्रो लहर देखा पर्न सक्छ सक्नेतर्फ सचेत गराउँदै उनले भने, अघिल्लो वर्ष गरेका गल्ती नदोहोर्याई बेलैमा सचेत बन्नुपर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन मुलुकभित्र पनि संक्रमणविरुद्ध रणनीति तयार पारी अघि बढ्न ढिलो गर्न नहुने तर्क गर्छन् ।
स्वास्थ्य मन्त्रालयको आग्रह :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, -याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न विज्ञप्तिमा उल्लेख छ । भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।
नयाँ ‘भेरियन्ट’ को आशंका :
मोरङमा फेरिकोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश – १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङमा पुनः नयाँ संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंकामा बल पुगेको हो । पुनः संक्रमण शुरु भएपछि भारतबाट भित्रिएको नयाँ भेरियन्टको कोरोना भाइरसको आशंका गरिएको छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ भारतसँगै जोडिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना कुन ‘भेरियन्ट’ हो भन्ने यकिन भइसकेको छैन । लहर फेरि भयावह भएर आउन सक्नेतर्फ सचेत रहौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया