काठमाडौं – सद्भाव, सौन्दर्य, समानता, स्वच्छता सौहार्दता र रसरङको रङ्गीन पर्व होली तराई – मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ।
भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ।
होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम, खुशी, सौहार्दता, स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।
रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।
राम खेलए होरी हो..
लक्ष्मण खेलए होरी..
रामजीके हाथ कनक पिचकारी
सियाजीके हाथ अबिर झोली
…
का सँग खेलब ऋतु वसन्त
नियर फागुन दूर वसन्त‘।
…
उपवन कुजए चातक कोकिल नानारंग बिरंग
देखि नवीन कुसुम तरू पल्लक थर–थर काँपए अंग।।
..
जीएब त खेलब अगिले साल‘।।
यस प्रकारका गीत र जोगीरा सरर…..काबीच उत्साहजनक वातावरणमा आलिङ्गन र सानोले ठूलोको पाउ छोइ आशीर्वादले वैमनस्यता हराउँछ ।
फागुन पूर्णिमाका दिन तराई – मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ । राति सामूहिकरूपमा होलिका दहन गरिन्छ ।
संस्कृतिविद् रामदयाल राकेश होली पूर्ण प्रजातान्त्रिक पर्व भएकाले यसमा जातजाति र वर्गमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएको बताए ।
उन भने, “प्राचीनकालमा त राजा र रैतीले एकसाथ मिलेर होली खेलेको सन्दर्भ कतिपय संस्कृत ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।” सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ ।
जनकपुरधामको होली
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।
यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।
यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।
यस पर्वले सृष्टि, प्रगति, स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गर्ने भएकाले एकता र सद्भावको पर्वका रूपमा स्वीकार गर्नुपर्ने धारणा संस्कृतिविद् रामभरोस कापडी ‘भ्रमर’ व्यक्त गर्नुहुन्छ । प्राध्यापक डा. पशुपति झा यस पर्वमाहास्यसम्म क्षम्य भएपनि अनावश्यक मनोरञ्जन क्षम्य हुन नसक्ने बताए ।
यसपटक कोरोनाको कहर र बढ्दो जोखिमका कारण होली नखेल्न, भिडभाड नगर्न, हुलहुज्जत नगर्न सरकारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया