सुदूरपश्चिममा लोकसेवा आयोग सम्बन्धी विधेयक दोस्रो पटक संशोधन

लोकपथ
0
Shares

टेकसिँह धामी/ धनगढी- सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकार सम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका पदाधिकारीलाई सपथ खुवाउन हिजो (बिहीवार)को प्रदेशसभा बैठकबाट ऐनमा संशोधन गरिएको हो । यसअघि पनि पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण यस ऐन संशोधन गरिएको थियो ।

प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि सपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो।
आयोगमा पदाधिकारी नियुक्त भइसकेका कारण सपथ खुवाउन ऐन संशोधन गर्न छोटो प्रक्रिया अपनाइएको छ । बिहीवार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको विधेयक ७२ घण्टापछि मात्रै छलफलमा आउने थियो । प्रदेशसभा नियमावलीको नियम ११० निलम्बन गर्दै संशोधन विधेयक पारित गरिएको छ ।

प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक यज्ञराज बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको छ । बोहरा कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए ।

कैलालीबाट गृह मन्त्रालयमा सरुवा भएका बोहरा लोकसेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका थिए ।

बोहरासँगै पूर्व प्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारु आयोगको सदस्यमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?