काठमाडौं । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
विलिङ्गटनमा शुक्रवार तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई १ सय ६४ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
न्युजिल्याण्डले दिएको ३ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो ।बंगलादेशका ममुदुल्लाहले ७६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै मुस्फिकर रहिम र लिटोन दासले २१-२१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका जेम्स निशमले ५ विकेट लिए । म्याट हेनरीको नाममा ४ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोनवेले १ सय २६ रनको शतकीय इनिङ्स खेले ।
यस्तै डार्यल मिचेलले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले २६ रन जोड्दा टम लाथम र हेनरी निकोल्सले १८-१८ रन बनाए ।
बंगलादेशका रुबेल होसेनले ३ विकेट लिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया