सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुन्छ : मन्त्री भट्ट

लोकपथ
0
Shares

धनगढी-टेकसिँह धामी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कले बताएका हुन् ।

‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन्,’ मन्त्री भट्टले भने, ‘हामी यहाँको नेतृत्व आएका छौ । अब छलफल गर्छौँ । यो सरकारले गति लिन सकेको छैन् । अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ ।’ अहिले लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ । मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा (एमाले) को प्रदेश इन्चार्ज बनाइएको छ । मुख्यमन्त्री भट्ट भने प्रचण्ड निकट छन् ।

मन्त्री भट्टले एमालेका नेता माधव कुमार नेपाल लगायतका नेताका विषयमा स्पष्टीकरणपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए । उनले उक्त पक्षका नेताहरुका लागि एमालेको ढोका खुल्ला रहेको बताए । ‘माओवादी केन्द्रले सरकारमा आफ्नो समर्थन फिर्ता लिएको छैन्,’ उनले भने, ‘त्यसैले अहिले नै संघीय सरकारमा ठूलै फेरवदल हुने देखिएको छैन् ।

तर अहिलेको अवस्था हेर्दा विगतमा लिइएको संसद विघटनको निर्णय नै ठीक थियो जस्तो लागिरहेको छ । भोलि पनि नयाँ जनादेशकै लागि हामी जान सक्छौ ।’ मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको बताउँदै तत्काल लकडाउन भने नहुले समेत बताए । ‘फेरि लकडाउन हुँदैन् । थप सतर्कता अपनाउने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?