राज्यले बिर्सेको ताक्लाकोट नाका

लोकपथ
0
Shares

बझाङ-छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन ।
नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घोष गरेसँगै यो चर्चाको विषय बनेको हो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने आश्वासन दिए । अधिकारीको सुदूरपश्चिम भ्रमण नसकिँदै सरकार ढल्ने अवस्थामा पुगेपछि उनले दिएको आश्वासन पनि केही दिनका लागि मात्र भयो ।
स्थानीयवासीका अनुसार त्यसपछिका दिनमा देशमा भएको राजनीतिक उतारचढावका कारण यो विषय गौण बन्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतका शीर्ष नेताहरूले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताएका थिए ।
आफ्नो पार्टीको पहिलो एजेन्डा चैनपुर ताक्लाकोट सडक भएकाले चाँडै नै ताक्लाकोट नाका सञ्चालनमा आउने बताएपछि सुदूरपश्चिमवासीमा केही आशा पलाएको थियो । विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनका विषयमा राज्यको ध्यानाकर्षण गरिएको भए पनि सरकारको ध्यान जान सकेन ।
आफूले बेलाबेलामा यो नाका खोल्नका लागि संसद्मा बोल्दै आएको प्रतिनिधिसभा सदस्य आशाकुमारी विक बताउँछिन् । उनले केही दिनअघि मात्र आफूले ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइन् ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसम्म गुहारेको भए पनि आफ्नो गुनासो कसैले नसुनेको बताउँछन् ।
ताक्लाकोट नाका सञ्चालनका लागि कसैले पनि पहल नगर्ने र चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र लाचारीपनका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?