शुरु भयो उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम

काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्च स्तरीय सुरक्षा तालिम सोमवारदेखि शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।

उक्त समारोहमा समुद्‍घाटन मन्तव्य राख्दै शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत रुपमा ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए ।

चैत्र ३१ गतेसम्म सञ्चालन हुने तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्‍व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना शिक्षार्थीहरुको सहभागीता रहेको सेनाले जनाएको छ । उक्त समुद्‍घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयविज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवम् सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु समावेश गरी सञ्चालन गरिने यस्तो तालिमबाट विभिन्न सरोकारवालाहरुबीच सुरक्षा सम्बन्धी विषयहरुमा साझा समझदारीको विकास हुने, सहकार्यको वातावरण विकास हुने तथा नीति निर्माण कार्यमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?