विराटनगरका शैक्षिक संस्थाहरु बन्द नगरिने महानगरको निर्णय

विराटनगर । वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गर्दै मङ्गलवारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।

त्यसको केही समयमै विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।

त्यस्तै, कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा शैक्षिक संस्थानहरु लामो समयसम्म बन्द भएकाले पनि पढाइमा अवरोध आएकाले महानगरपालिकाका शैक्षिक संस्थाहरु बन्द नगर्ने निर्णय गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?