ओलीले कारवाहीको डण्डा चलाएपछि के गर्लान् माधव नेपाल ?

लोकपथ
0
Shares

काठमाडौं –अहिले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टीमा सवैभन्दा संकटपूर्ण अवस्थामा छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ६ महिनासम्म पार्टीबाट निलम्बन गर्ने निर्णय गरेपछि वरिष्ठ नेता नेपाल अलमलमा परेका छन्।

तत्कालीन नेकपामा हुँदा नेपाल र पुष्पकमल दाहाल (माओवादी केन्द्रका अध्यक्ष) एकातिर थिए भने ओली अर्काेतिर थिए । ओलीले गत ५ पुसमा प्रतिनिधिसभा बिघटन गरेपछि नेकपामा स्पष्ट दुइधार देखा परेको थियो । गत २३ फागुनमा सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा ब्यूँताइदिएपछि दुवै पार्टी एकता अघिको अवस्थामा (२०७५ जेठ २ अघि) फर्किएका छन् ।

योसंगै नेपाल अप्ठ्यारोमा परेका छन्। ओलीको बज्रले नेपाललाई ठूलै चोट परेको छ । यस्तो अवस्थामा आफ्नो र आफ्ना सहयोगीहरुको राजनीतिक जीवन रक्षाका लागि नेपालसँग के छन् विकल्प ?

ओलीसामु आत्मसमर्पण

नेपालका सामुन्ने एउटा विकल्प छ – ओलीले गरेको कारवाही स्वीकार गरेर आत्मसमर्पण गरेर अघि बढ्नु । तर यो त्यति सहज छैन । किनकी नेपाल पार्टीमा राम्रै हैसियत बनाएका व्यक्ति हुन् भने उनीसँग आफ्नो समूहमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य समेत जोगाउनु छ । आत्मसमर्पण गरेको खण्डमा नेपाल पक्षमा लागेकाहरु छोडेर ओली क्याम्पतिर जान सक्नेछन्।

अनुकुल समयको प्रतिक्षा

अहिले संकटमा परेपनि नेपालले सहज समयको लागि प्रतिक्षा गर्नुपर्ने हुन्छ । किनकी राजनीतिमा आज ओलीका दिन आएका छन्, भोलि नेपालका पनि दिन आउँछन । राजनीतिमा असम्भव भन्ने कुरा केही हुदैन । समयको प्रतिक्षाले राजनीतिमा खास अर्थ राख्छ । पछिल्लो नेपाली राजनीति ‘कहिले सासुको पालो त कहिले बुहारीको पालो’ भन्ने नेपाली उखानको वरपर घुमिरहेको छ । तर नेपालले उपयुक्त समयका लागि धैर्य गर्न सक्छन ?

समानान्तर कमिटीको बिस्तार

पार्टीभित्रै रहेर नेपालले समानान्तर  कमिटीलाई अघि बढाउने यो पनि अर्काे विकल्प हुनसक्छ । जसले गर्दा नेपाल पक्षलाई पार्टीमा सम्मानजनक रुपमा ब्यवहार गर्न दवाब ओलीमाथि बढ्नेछ । यही चैत ४ र ५ मा नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थितिको संख्याले पनि कार्यकर्ता तहमा नेपालको लोकप्रियता कायमै छ भन्ने देखाउँछ । तर यो अवस्था कार्यकर्तामा सधै रहन्छ कि रहदैन भन्ने पनि छ।

आफ्नो पक्ष शसक्त बनाउने

पार्टीमा राम्रो प्रभाव रहेका नेपाल पक्षका नेताहरुमा भीम रावललाई पनि ओलीले पार्टीबाट ६ महिना निलम्बन गरेका छन । नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले कारवाहीको डन्डा लगाएर निलम्बन गर्न सक्छन । यो अवस्थामा बाँकी नेताहरुलाई पार्टीमा राम्रोसंग कुरा उठाउन लगाएर ओली कदम बिरुद्ध बोल्न शसक्त ढङ्गले अघि बढ्ने । दुई लाइन संघर्षले एमालेभित्र नेपाल पक्षलाई आफ्नो पक्ष बलियो बनाउन मद्घत गर्न सक्छ।

अर्काे पार्टी खोल्ने

एमाले छोडेर अर्काे पार्टी खोल्ने यो कदम नेता नेपालका लागि निकै जोखिम हुनसक्नेछ । त्यसो त ‘नेपालले हामी पार्टी फुटाउँदैनौ बरु ओलीले फुटाउन सक्छन्’ भनेर भनिसकेका छन् । अर्काे कुरा नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएपछि नेता नेपाल पार्टीमा अल्पमतमा छन् । अर्काे पार्टी खोल्न संसदीय दल र केन्द्रीय कमिटिका ४० प्रतिशत सदस्य हुन पर्नेछ । तर अहिले नेपालसँग यो संख्या पुरयाउन सक्ने ल्याकत देखिदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?