काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्रहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छौं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । उनले प्रधानमन्त्री ओली धेरै कुरामा सकारात्मक रहेको समेत बताए ।
मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूहरू किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधनको विषय आफूहरूको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरूलाई आग्रह गरेको सुनाए । तर, आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ आफूहरूले दिएको उनले स्पष्ट पारे ।
मंगलवार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले जानकारी दिए । आफूहरूले उठाएका माग पूरा गर्नका लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । यो खबर आजको राजधानी दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया