काठमाडौं । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो ।
तत्कालीन नेपाल राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । केन्द्रीय बैंकले सामान्यतः सम्बन्धित देशको मुद्राको छपाइ,वितरण लगायतका स्वदेशी मुद्राको सम्पूर्ण व्यवस्थापन, स्वदेशी मुद्राको विदेशी मुद्रासँगको खरिद बिक्रीदरको निर्धारण,स्वदेशमा हुने मुद्रास्फीतिको नियन्त्रण एवं व्यवस्थापन,देशभित्र बैंकिङ तथा वित्तीय क्षेत्रको विकास एवं स्थायित्व कायम गर्ने कार्य गर्दछ । पुरानो ऐनलाई प्रतिस्थापन गर्दै बनेको नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले केन्द्रीय बैंकले गर्ने सम्पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।
यस्ता छन् केन्द्रीय बैंकका काम
राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । राष्ट्र बैंकले नेपालका लागि आवश्यक पर्ने नेपाली मुद्रा (नोट तथा सिक्का) को निष्काशन एवं व्यवस्थापनको कार्य गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकारी र नियामक संस्था पनि भन्ने गरिन्छ । त्यसैगरी,देश विकासको लागि तथा वस्तु तथा सेवाको मूल्यलाई धेरै बढ्न नदिई स्थिर राख्न अर्थव्यवस्थामा कति रुपैयाँ आवश्यक पर्छ भन्ने अध्ययन गरी सोही अनुसार रुपैयाँ पैसाको व्यवस्था गर्ने काम राष्ट्र बैंकले गर्दछ । राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने,मौद्रिक नीतिको तर्जुमा तथा सञ्चालन गर्ने,सरकारको बैंक तथा बैंकहरूको बैंकको रूपमा भूमिका निर्वाह गर्ने गर्दछ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ ।
राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरीवेक्षकीय निकाय हो । राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि बि.सं २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको थियो । राष्ट्र बैंकको स्थापना भएपछि सदर मुलुकी खानाले छपाइ गरेका नोटको स्वामित्व राष्ट्र बैंकले लियो । राष्ट्र बैंक आफैँले भने २०१६ साल फागुनदेखि नोट छपाइ गर्न थालेको हो ।
नेपालमा आवश्यक पर्ने बैंक तथा वित्तीय संस्था स्थापना गर्न स्वीकृति दिने काम पनि राष्ट्र बैंकले गर्दछ । आफूले स्वीकृति दिएका बैंक तथा वित्तीय संस्थाले कसरी वित्तीय कारोबार गर्दछन्,बचत गरेको रकम सुरक्षित छ छैन ? भनेर नियमन एवं सुपरीवेक्षण गर्ने काम पनि राष्ट्र बैंकले गर्ने गर्दछ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्तबैंक तथा वित्तिय संस्थाहरू
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरूले सर्वसाधारण जनता एवं विभिन्न संस्थाहरूबाट निक्षेप स्वीकार गर्दछन् र उक्त निक्षेपलाई उद्यम गर्न चाहने,तर पैसाको अभाव हुने व्यक्ति वा संस्थालाई कर्जाको रूपमा प्रदान गर्दछन् । अर्थतन्त्रमा एउटा समूह वा वर्गबाट दायित्वको रूपमा बचत संकलन गरी सो दायित्वलाई पुनः उत्पादनशील प्रयोजनका लागि सम्पत्तिको रूपमा ऋण (कर्जा) प्रवाह गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय मध्यस्थकर्ता पनि भन्ने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरू देशको कानुन बमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् । नेपालमा अहिले ‘क’ ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गका बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । ‘क’ वर्गका संस्थालाई वाणिज्य बैंक, ‘ख’ वर्गका संस्थालाई विकास बैंक, ‘ग’ वर्गका संस्थालाई वित्त कम्पनी र ‘घ’ वर्गका संस्थालाई लघु वित्त वित्तीय संस्था भन्ने गरिएको छ । ‘ख’, ‘ग’ र ‘घ’ वर्गका संस्थालाई एकमुष्ट रूपमा वित्तिय संस्था पनि भनिन्छ । यी चारै प्रकारका संस्थालाई एकैसाथ भन्नुपर्दा बैंक तथा वित्तीय संस्था भनिन्छ ।
राष्ट्र बैंकको गत असोज मसान्तसम्मको विवरण अनुसार कुल २७ वटा वाणिज्य बैंक,१९ वटा विकास बैंक,२१ वटा वित्त कम्पनी र २५ वटा लघुवित्त कम्पनीहरु संचालनमा रहेका छन् । त्यस्तै,राष्ट्र बैंकले ९ वटा भुक्तानी संचालक तथा १८ वटा भुक्तानी प्रदायक कम्पनीहरुलाई आर्थिक कारोबार गर्ने अनुमति दिएको छ ।
बचत तथा ऋण सहकारी संस्थाहरू र वित्तिय मध्यस्थकर्ताहरू
ग्रामीण तहसम्म वित्तिय सेवाको पहुँच स्थापित होस् भन्ने अभिप्रायले नेपालमा सहकारी संस्थाहरूको स्थापना द्रुत गतिमा भइरहेको छ । बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्था स्थापनाका लागि नेपाल सरकार सहकारी विभागले स्वीकृति प्रदान गर्दछ । हाल सहकारी संस्थाहरुको संख्या ३५ हजार भन्दा बढी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया