कञ्चनपुर । महेन्द्रनगरमा नेपाल–भारतमैत्री बस सेवा एक वर्षदेखि ठप्प भएको छ । कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि सीमा नाका खुले पनि बस सञ्चालनमा आउन सकेको छैन् ।
बस सञ्चालनमा नआउँदा बस व्यवसायी समस्यामा परेका छन् । प्रत्येक दिन महेन्द्रनगर बसपार्कबाट भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रका लागि छुट्ने बस अहिले छुट्न पाएका छैनन् ।
बस छुट्न नपाउँदा ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायी संकटमा परेका छन् ।कोरोना महामारीले गर्दा बस सेवा ठप्प भएको पनि झन्डै एक वर्ष भयो ।
कोरोना कहरको अवस्था सामान्य भएर नाकासमेत सञ्चालन भएको अवस्था भए पनि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन आउन सकेको छैन, महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका सचिव तथा बस व्यवसायी देवराज जोशीले भने, बस सञ्चालन गर्न नपाउँदा लाखौं घाटा भइरहेको छ ।
व्यवसाय सञ्चालन गर्नका लागि ठूलो लगानी गरेको भए पनि लगानी डुब्ने अवस्थामा पुगेको छ ।
महेन्द्रनगर बसपार्क क्षेत्रबाट दैनिक रूपमा भारतको राजधानी नयाँ दिल्ली र देहरादून क्षेत्रका लागि प्रत्येक दिन भारतीय र नेपाली गरेर १० वटा बस छुट्ने गर्छन्, जसमा पाँचवटा बस नेपाली नम्बर प्लेटका छुट्ने गरेका छन् भने पाँचवटा भारतीय नम्बर प्लेटका बसहरू सोही क्षेत्रका लागि छुट्ने गरेका थिए । यो खबर आजको कारोबार दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया