रामेश्वर सापकोटा /काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विपक्षी माथि कठोर बन्दै जान थालेका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्ष पनि ओलीसँग नझुक्ने लाइनमा गएका छन ।
जसले गर्दा भविष्यमा नेपाल समूह र ओली समूह अलग–अलग बाटो लाग्ने हुनकि भन्ने चिन्ता एमालेका नेता कार्यकर्तामा रहेको छ । नेपाल र ओली अलग अलग बाटोमा लागे भने आफ्नो राजनीतिक भविष्य के हुने हो भन्ने चिन्ता पनि एमाले नेता कार्यकर्तामा छ । तर अहिलेसम्म पनि खासै बिग्रि नहालेको अवस्था छ । त्यसलाई दुवै पक्षले आत्मसमीक्षा गर्दा एमाले पुरानै अवस्थामा फर्किन सक्ने एमाले नेताहरु बताउँछन् । के छन् त नेपाल र ओलीसँग मिलन बिन्दु?
प्रधानमन्त्री ओली र नेता नेपालको भूमिका
ओली प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष हुन् । पार्टीभित्रको झगडा मिलाउन सबैभन्दा ठूलो भूमिका उनकै हुन्छ । ओली निकट एक नेता भन्छन्,‘एमाले बनाउन ओलीको भूमिका जति छ, त्यति नै माधव नेपाल लगायतका नेताहरुको पनि छ । यसलाई मध्यनजर गरेर ओलीले अहिलेसम्म जे जस्तो भयो अब मिलेर अघि बढौँ भनेर भन्न सक्नुपर्छ । नेपाल समूहले पनि सर्वाेच्च अदालतको गत फागुन २३ को फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि त्यस अघिका गल्ती कमजोरी स्वीकार गर्न सक्ने क्षमता देखाउन सक्नुपर्छ ।
ओलीले अहमता छाड्ने
नेकपा एमालेका एक नेताका अनुसार एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि ओली पार्टी र सरकार दुवैमा शक्तिशाली छन् । पार्टीमा उनी बहुमतमा छन् भने सत्ता उनकै हातमा छ । जसले ओलीमा अहंमता बढेको छ । यो क्षणिक मात्रै हो भोलि पुनः यसमा तलमाथि हुन सक्छ भन्ने बुझेर विपक्षीप्रति नरम व्यवहार गर्ने ।
मध्यस्तता गर्ने कोहि भएनन्
तत्कालीन नेकपा हुँदा पार्टीमा दोस्रो तहका नेताहरु मध्यस्तता गर्न लागि पर्थे । तर अहिले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि नेपाल र ओलीलाई मिलाउन मध्यस्तता गर्ने कोही देखिएका छैनन् ।
एमालेमा प्रभावशाली मानिएका दोस्रो पुस्ताका नेताहरु घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र भीम रावललाई ओलीले निलम्बन गरेका छन । ओलीको व्यवहारले चिढिएका नेताहरु मध्यस्तताका लागि लाग्ने कुरै भएन ।
ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेल र लुम्विनिका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु पनि मध्यस्तताको पक्षमा खासै लागि परेका छैनन् । त्यसले पनि एमालेमा दुवै पक्षलाई मिलाउने प्रयास हुन सकेको छैन ।
आफ्नो भाग खोसिने कतिपयको डर
ओली पक्षका कतिपय नेताहरु तत्काल नेपाल पक्ष पार्टीमा मिलेमा आफ्नो भाग खोसिने होकि भन्ने डरमा छन् । ती खासगरी ओलीको वरीपरी घुम्नेहरु छन् ।
‘ओली सत्ता र पार्टीमा शक्तिशाली रहुञ्जेल नेपाल र ओलीबीच मिल्ति नहोस भन्ने उनीहरुको चाहना छ,एक एमाले नेता भन्छन्, ‘जसले गर्दा उनीहरु तत्काल दुवै पक्षलाई मिल्न नदिने पक्षमा छन्।’
मिल्ने विकल्प
२८ फागुनमा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेपालपक्ष लाई कारबाही गर्दै विभाग र प्रदेशको जिम्मेवारी हेरफेर गर्यो। माओवादीका २३ जनालाई केन्द्रीय कमिटीमा ल्यायो । जसले नेपाल पक्षका नेताहरु ओलीसँग झनै चिढिए ।
नेपाल पनि एमालेमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । नेपाल पक्षको माग पनि २८ फागुनको फैसला ओलीले फिर्ता लिनुपर्छ भन्ने छ । ओली त्यसमा लचक बन्नै पर्ने देखिन्छ । त्यस्तै नेपाल पक्षले पनि समानान्तर कमिटी निर्माणका काम रोक्नु पर्छ । अनि एमाले एक बन्न सक्छ । दुवै पक्षले खुला दिलले आ–आफ्ना गल्ती स्वीकार गरेर अघि बढे एमालेमा दुवै पक्षबीच मिल्ति हुनसक्छ।
दुवै पक्षले आ–आफ्नो तर्फबाट उदारता र लचकता नदेखाएर घरमा आगो लगाउने हो भने उनीहरुको हातमा खरानीमात्र पर्न सक्छ । यस्तो स्थितीमा नेपाली राजनीतिमा शक्तिशाली देखिएको एमाले एकादेशको कथा बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया