काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् ।
आज (शुक्रवार) संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए ।
सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीहरुलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए ।
उनले भने ‘सही सूचनाहरुलाई दुनियाँभर पुर्याउने काममा पनि यहाँहरुको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरुलाई सच्याएर अगाडी जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरुले सोच्नु भा छ कि ? नभए नी सोचिदिनुहोला ।’
मिडियाबाट आएका समाचारहरुबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उनले बताए । संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया