कैलालीको त्रिनगर नाकाबाट नेपाल फर्किने बढे, कोरोना परीक्षण गर्न सकस

लोकपथ
0
Shares

टेकसिँह धामी/ धनगढी- कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू फेरी स्वदेश फर्किन थालेका हुन् ।

चैत ३ देखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन् । तीमध्ये नाकामा ४ हजार बढीलाई एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीलाई संक्रमण देखिएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले जानकारी दिए ।

साउदका अनुसार हिजो बुधवार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउदले भने, ‘हामीले कतिपयको ग्रुपमा परीक्षण गर्ने गरेका छौं, चैत ३ गतेदेखि कोरोना जाँच गर्न थालेपछि ४ हजारको हाराहारीको परीक्षण गरिसकेका छौं । त्यसमा १ सय ५० बढीलाई कोरोना पुष्टि भएको छ’।

उनले अहिले दोस्रो चरणको कोरोना संक्रमणपछि दैनिक १ हजारदेखि १५ सयको हाराहारीमा घर फर्किन थालेको बताए ।

दैनिक सीमा नाकामा घर फर्किनेहरूको भीड बढ्दै गए पनि सोही अनुसार उनीहरूको कोरोना परीक्षण गर्न समस्या भइरहेको हेल्थ डेस्कका कर्मचारी साउदको भनाइ छ ।

‘जाँच गर्न किटको समस्या छ जनशक्तिले पनि भ्याउन सक्ने अवस्था छैन । थप माग गरिरहेका छौं,’ उनले भने ।

अहिले हेल्थ डेस्कमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट ४, धनगढी उपमहानगरपालिकाबाट १, सामाजिक विकास मन्त्रालयबाट १ र स्वास्थ्य कार्यालय कैलालीबाट ७ जना कर्मचारी काम गरिरहेका छन् ।
यी कर्मचारी बढ्दै गएको भीडमा सबैको कोरोना परीक्षण गर्न अभाव भएको बताइएको छ ।

उच्च जोखिममा सुदूरपश्चिम

रोजगारीका लागि भारत गएकाहरू भारतमा संक्रमण तीव्र भएपछि धमाधम स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम फेरि बढेको छ ।

नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको ज्वरो नाप्ने र कोरोनाका लक्षणहरूबारे बुझ्ने काम नहुँदा जोखिम झनै बढेको हो । पोजेटिभ देखिएकाहरूलाई भने स्थानीय तहले बनाएका आइसोलेसनमा राख्ने गरिएको छ ।

यस्तै, भारतबाटै फर्किएका तीन जनामा सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो । मंगलवार राति भारतबाटै फर्किएका कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको थियो ।

जोखिमलाई मध्यनजर गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने-गराउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टिनमा व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी दिए ।

बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउँदै जोशीले नियमको उल्लंघन गर्नेलाई कारवाही गरिने बताए ।

त्रिनगर भन्सार नाका सँगसँगै गड्डाचौकी, दार्चुला र बैतडीका नाकाहरू पनि भारतका विभिन्न शहरहरूबाट स्वदेश फर्किनहरूको संख्या दैनिक बढ्दै गएको सम्बन्धित प्रशासन कार्यालयले जनाएका छन् ।

सुदूरपश्चिममा थपिए ४१ जना नयाँ संक्रमित

सुदूरपश्चिममा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशाला र सीमा नाकामा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयकाअनुसार सेती प्रादेशिक अस्पतालमा ६९ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।

यस्तै, महाकाली अस्पताल प्रयोशगालामा ७ जनाको परीक्षण गर्दा २ र जिल्ला अस्पताल बैतडीमा ३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो ।

त्रिनगर–गौरीफन्टा सीमा नाकामा ३ सय २७ जनाको एन्टीजोन विधीबाट गरिएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?