काठमाडौं । राष्ट्रिय गौरवका बहुप्रतिक्षित आयोजना मध्येको एक सुनकोशी मरिण डाइभर्सन आयोजनाको हालसम्म ५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
बजेटको सुनिश्चितता नभएका कारण आयोजनाको काममा उल्लेख्य प्रगति हुन नसकेको आयोजनाले जनाएको छ। समयमा बजेट उपलब्ध नभएकाले न्यून भौतिक प्रगति भएको हो। हालसम्म यस आयोजनाको समष्टिगत भौतिक प्रगति ५ प्रतिशत मात्रै भइसकेको छ। त्यस्तै, वित्तीय प्रगति ०.६ प्रतिशत मात्रै भएको छ । यस ओजनाको लागत अनुमान ४६१९.२९ करोड रुपैँया रहेको छ । यस आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा कुल २२७.६७ करोड रुपैयाँ विनियोजन भएको थियो । जसमा २५ करोड रुपैयाँ खर्च भएको छ। यो आयोजना आर्थिक वर्ष २०७६/७७ मा भई शुरु भई आर्थिक वर्ष २०८०/८१ सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिएको थियो ।
यो आयोजनामार्फत् बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको १, लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउने र २८.६२ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
हालसम्म यस आयोजनाको साविक बाग्मती सिँचाइ योजनाको सिञ्चित क्षेत्रसहित बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हवार हेक्टर जमिनमा वर्षैभरि भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउनुका साथै २८.६२ मेघावाट विद्युत् उत्पादन गर्ने अपेक्षा समेत यस आयोजनाले राखेको छ ।
यस आयोजनाको सुरूङ निर्माण कार्यको लागत अनुमान तथा खरिद कागजात तयार भएको आयोजनाले जनाएको छ। आयोजना कार्यान्वयनमा देखिएका प्रमुख समस्या :
बजेटको सुनिश्चितता
नर्म्स स्वीकृतिमा समय लागेकोले सुरूङको ठेक्का लगाउन केही ढिलाइ लगायत रहेका छन्।
के हो राष्ट्रिय गौरवका आयोजना ?
अर्थतन्त्रको जीवन रेखाका रुपमा रहेका र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधारशिलाका रुपमा रहने, ठूला पूर्वाधार जन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।
नेपालको अर्थतन्त्रलाई गतिशील एवम् थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पु–याउने राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन सहयोग पु-याउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन्। मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पूँजी निर्माण र प्रादेशिक सन्तुलनमा यी आयोजनाहरु कोसेढुङ्गा साबित हुनेछन् । यी आयोजनाहरुमा रुपान्तरणकारी, रणनीतिक महत्व र उच्च राष्ट्रिय प्राथमिकता आदि विशेषताहरु रहेको पाइन्छ।
राष्ट्रिय गौरवका आयोजनाका प्रकार
हालसम्म मुलुकभरी २४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । जसमध्ये सडक तथा रेलसम्बन्धी ७ वटा, सिँचाइसम्बन्धी ६ वटा, जलविद्युत्सम्बन्धी ४ वटा, विमानस्थल सम्बन्धी ३ वटा, धार्मिक तथा सांस्कृतिक सम्पदासम्बन्धी २ वटा र खानेपानी एवम् चुरे क्षेत्र संरक्षणसम्बन्धी १/१ वटा आयोजना रहेका छन् ।
मन्त्रालयगत रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ६ वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५ वटा एवम् रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने १/१ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् ।
रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनालाई काठमाण्डौ–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ भने कालीगण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य
राष्ट्रिय गौरवका प्रत्येक आयोजनाहरुको आयोजनागत उद्देश्य फरक फरक भएपनि समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको उद्देश्य साझा जस्तै हुने गर्छन् । जसमा : समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत् कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, पूर्वाधारको विकासमार्फत् सघन अन्तरआबद्धता बढाउने, सांस्कृतिक सम्पदाको सम्बर्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायत रहेका उद्येश्य रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया