नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेको एक जना भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेको एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक तसलिम अहमद रहेका छन् ।

अहमदको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

सोमवार उनलाई पक्राउ गरेर पुनः परीक्षण गरिएको हो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रहरीले जनाएको छ ।

उनलाई कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आईशोलेसनमा राखिएको छ । अहमदले रिपोर्ट कहाँ र कति रकम तिरेर बनाए भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले नक्कली पीसीआर रिपोर्ट बनाउन संलग्न सिनामंगलस्थित सुरिया हेल्थ केयरका ३ जना कर्मचारी र त्यसमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?