काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को हिजो (बुधवार) खेलिएका खेलहरूमा चेन्नई सुपर किङ्स र सन्राईजर्स हैदराबाद विजयी भएका छन् ।
हिजो खेलिएको पहिलो खेलमा हैदराबादले पंजाब किङ्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको पंजाबको टिमले १९.४ ओभरमा सबै विकेट गुमाएर १२० रनको साधारण योगफल मात्र बनाउन सक्यो । जवाफमा १२१ रन पछ्याउने क्रममा हैदराबादका जनी बेरस्टोले अविजित ६३ रनको पारी खेल्दा हैदराबादले खेल ९ विकेटले जितेको हो । बेरस्टो खेलका म्यान अफ दि म्याच पनि घोषित भए ।
त्यस्तै दोस्रो खेलमा चेन्नई सुपर किंग्स ले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजीत गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईको वाँखेडे स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रनको विशाल योगफल तयार गरेको हो । चेन्नईका ओपनर फाफ डु प्लेसी र रितुराज गायक्वाडले ११५ रनको साझेदारी खेलेका थिए ।
२२१ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको कोलकाता १९.१ ओभरमा २०२ रनको स्कोरमा अलआउट हुँदा जीत चेन्नईको हातमा गएको हो ।
विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले ५.२ ओभरमा ३१ रन बनाएर ५ विकेट गुमाई सकेको अवस्था थियो । आन्द्रे रसल र प्याट कमिन्सले पारी सम्हाल्दै कोलकातालाई लज्जास्पद हारबाट बचाएका हुन् । चेन्नईका फाफ डु प्लेसि आफ्नो अविजित ९५ रनको योगदानका लागि म्यान अफ दि म्याच घोषित भए ।
आजको खेलमा रोयल चलेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्स मुम्बईको वाँखेडे स्टेडियममा आमने सामने हुँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया