काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी– ट्वेन्टी सिरिजको आज समूह चरणको अन्तिम खेलमा आयोजक राष्ट्र नेपाल र मलेसिया बीच प्रतिस्पर्धा हुँदै छ। त्रिवी मैदानमा अपरान्ह १ः१५ मा खेलिने आजको खेलमा जीत निकाले नेपाल समूह चरण विजेता बन्ने छ ।
हिजो (बुधवार) सम्पन्न खेलमा वर्षा बाधक बनेपछि डी÷एल मेथडको आधारमा नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेल्दै १–१ अंक बाँडेका थिए ।
हिजोको नतिजा मलेसियाको तर्फमा नगए सँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल ३ खेलमा २ मा जीत र १ मा हार सहित ४ अंकको साथ दोस्रो स्थानमा छ भने नेदरल्याण्ड्स ४ खेलमा २ मा जीत १ मा हार र १ बराबरी सहित ५ अंकको साथ शीर्ष स्थानमा छ । मलेसिया जम्मा १ अंक सहित पुच्छरमा रहेको छ ।
आजको खेल सन्दीप लामिछानेको टी– ट्वेन्टी क्रिकेटमा १००औं क्याप हुने छ । उनी यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन् । इन्डियन प्रिमियर लिग २०१८ बाट सन्दीपको यो यात्रा सुरु भएको थियो ।
फाइनल प्रवेश गरिसकेको नेपालको स्टार्टिङ ११ मा आज केही परिवर्तनको अपेक्षा गर्न सकिन्छ। मलेसिया भने आफ्नो इज्जतको लागि मैदानमा उत्रने छ ।
नेपाल र नेदरल्याण्ड्स बीचको फाइनल खेल शनिवार त्रिवी मैदानमा खेलिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया