टेकसिँह धामी/ धनगढी- नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दै जाँदा धनगढीका व्यापारी फेरि लकडाउन होला की भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
लकडाउनकै चिन्ताका कारण धेरै व्यवसायीले नयाँ सामानको अर्डर समेत गर्न छोडेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा सामान किन्न आउने ग्राहकको संख्या घट्दो क्रममा रहेको व्यवसायी बताउँछन् ।
‘ग्राहकले सामान किन्न छोडे पछि व्यापारमा मन्दि आएको छ’ धनगढी स्थित पन्थि स्टोरका सञ्चालक मोहन पन्थिले भने,‘व्यापार घटेपछि नयाँ सामान राख्ने आँट आएको छैन, त्यसैमाथी लकडाउन हुने हल्लाले चिन्तित बनाएको छ ।’ दोस्रो चरणको कोरोना संक्रमण दर बढे संगै एकाएक व्यापारमा मन्दि आएको उनले बताए ।
कोरोना बढ्दैजाँदा सामान किन्ने ग्राहक समेत घट्न थालेका व्यवसायी बताउँछन् । ‘नयाँ बर्ष शुरुहुँदा सुदूरपश्चिममा व्यापार बढ्ने गर्दथ्यो’ व्यवसायी शेखर विष्टले भने,‘तर यस बर्ष त्यसो भएन, आम नागरिकमा पनि कोरोनाको त्रास देखिन्छ ।’ कोरोना बढ्दै जाँदा आगामी दिनमा के हुने भन्ने अन्यौलताका कारण नागरिकले किनमेल नगरी भएको पैंसा सञ्चित गर्ने गरेको उनि बताउँछन् ।
‘सुदूरपश्चिममा नयाँ बर्षसँगै अन्य ठुला चाड पनि सुरु भएका छन्’ उनले भने,‘यो अवस्थामा पनि नागरिकले किनमेल नगर्दा नयाँ बर्षमा राम्रो व्यापार हुन्छ भन्ने आशा निराशामा परिणत भएको छ, लकडाउन भएत कसरी बाँच्ने ?’
संक्रमण दर बढ्दै जाँदा व्यापार ओरालो लाग्न थालेको धनगढी स्थित म्याजिक फुटवेयरका सञ्चालक जगदिश जोशीले बताए । ‘कोरोना संक्रमण बढ्दै जाँदा व्यापार सुस्त बनेको छ’ उनले भने,‘त्यसैमाथी लकडाउन हुने चिन्ताले सताएको छ ।’
पहिलो चरण (२०७६ चैत ११) गते देखि जारी लकडाउनका कारण धरासायि बनेको व्यवसाय बिस्तारै लयमा आउन थालेका वेला दास्रो चरणमा फैलिएको कोरोनाका कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुग्ने व्यवसायीको भनाइ छ ।
लकडाउन भए प्रतिकार गर्ने
सरकारले लकडाउनका बारेमा सोच्न पनि नहुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवर बताउँछन् । ‘कोरोना संक्रमण नियन्त्रया गर्ने थुप्रै विकल्पलाई छोडेर लकडाउन गर्छु भन्नु गलत हो’ अध्यक्ष कुवरले भने–‘सरकारले लकडाउनका बारेमा सोच्न पनि हुदैन, त्यसो गरेमा प्रतिकार गर्न व्यवसायी बाध्य हुनेछन् ।’ उनले व्यवसायिलाई ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे । ‘अब लकडाउन हुदैन’ अध्यक्ष कुँवरले भने–‘सरकारले लकडाउन नगर्ने प्रतिवद्धता जनाएको छ’ यदी लकडाउन भइहालेपनि हामी त्यसको प्रतिकार गर्ने छौं ।’
आशिंक निषेधाज्ञा जारी
कैलालीमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनले आशिंक रुपमा निषेधाज्ञा जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।
यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने आदेशमा भनिएको छ ।
मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउँदै प्रहरी
धनगढीमा मास्क नलगाएर हिड्नेलाई कारवाही थालिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीलाको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई कारवाही गर्न थालिएको हो ।
संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन अनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारवाही गर्न थालेका हुन् । मास्क नलागाउनेलाई सम्झाई बुझाई गदैँ एक सय रुपैयाँ जरीवाना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारवाही प्रकृया शुरु गरिसकेको छ । शुरुमा सम्झाइबुझाई गर्ने र आवश्यक परे जरिवाना पनि तिराउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए । अहिले कैलाली जिल्लाको सिमानाका सँग जोडिएको गौरीफन्टा नाकाबाट हजारौँको संख्यामा नेपालीहरू स्वदेश भित्रिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया