काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
बिहिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको हो । गौतमले बिहिबारको डिनर प्रधानमन्त्री निवासमै लिएका हुन् । भेटघाटका क्रममा नेता गौतमले प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएपनि उनीसँगको आफ्नो सम्बन्ध पदको कारणले नभई जमानादेखिको रहेको र सम्बन्ध अटुट रहिरहने बताएको नेकपा(एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सामजिक सञ्जाल फेसबुक मार्फत् जानकारी दिए । उनले लेखेका छन् –‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसँगको सम्बादपछि उहाँले भन्नुभो, केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’
प्रमुख सचेतक भट्टराईले अब बामदेव गौतम के गर्नुहुन्छ भन्ने जिज्ञासाको जवाफ यही भनाईमा खोज्नुपर्ने पनि फेसबुकमा लेखेका छन् ।
भेटवार्तामा एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित कानूनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया