काठमाडौं– तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको एक वर्ष पुगेको छ।
२०७७ बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा नेपाल स्थापना भएको थियो । तर एकताको एक वर्ष वित्दा दल मिलेपनि नेताहरुबीच मन भने मिल्न सकेको छैन । अहिलेको बिकसित राजनीतिक घटनाक्रममा सत्तामा जाने र नजाने भन्नेमा जसपा भित्रको बिवादले एकता फेरि भत्किनेत होइन भन्ने आशंका उब्जिएको छ ।
यसरी भएको थियो दुई पार्टीको एकता
२०७७ वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुन अध्यादेश मार्फत् संशोधन गर्ने अध्यादेश ल्याएपछि त्यतिवेला दुवै पार्टी तरंगित भएर राता रात पार्टी एकता गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी फुटाउन खोजेको भन्दै दुवै दलले तत्काल एकता गरे । उनीहरुलाई यो एकता आफ्नो पार्टीलाई टुक्र्याउन नदिने आपतकालीन परिस्थितिले सिर्जना गरिदिएको मोड थियो ।
पार्टी मिल्यो नेता मिलेनन्
जसपामा पार्टी मिलेपनि नेताहरुको मन भने मिलेको छैन । यसको ज्वलन्त उदाहरण लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावलाई लिन सकिन्छ । कांग्रेस र माओवादीले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ३ जना प्रदेश सांसद त्यसको २ घण्टा बित्न नपाउँदै पोखरेलको मन्त्रिमण्डलमा सहभागि बने ।
पोखरेल प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । ओलीले जसपाको पूर्व राजपा पक्षलाई फकाएर पोखरेलको सरकार जोगाएका एक एमाले नेताको भनाइ छ । जसपामा पनि पूर्व राजपा पक्षका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायत प्रधानमन्त्री ओलीप्रति लचक छन् भने पूर्व समाजवादीका नेताहर डा. बाबुराम भट्टराई,उपेन्द्र यादव ओलीसँग सहकार्य गर्नु हुँदैन भन्नेमा छन् ।
लुम्बिनीमा सत्ता गठबन्धनका विषयमा जसपा नेपालका प्रदेशसभा सदस्यहरु दुई कित्तामा विभाजित भएपछि एक अर्कामाथि कारवाहीको होड चलेको छ । त्यसैगरी केन्द्रमा पनि ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् । यसले स्पष्टै हुन्छ जसपाका नेताहरु मिलेका छैनन् भन्ने । प्रधानमन्त्री ओलीको गत पुस ५ को प्रतिनिधि सभा विघटनको कदमले भट्टराई र यादव ओलीसँग आक्रोशित छन् ।
न संगठन समायोजन,न संसदीय दलको नेता न पदाधिकारी चयन
राजपा र समाजवादी पार्टी एकीकरणको (जसपा बनेको) एक वर्ष बितिसक्दा पनि पार्टीका संगठनको समायोजनको कामै टुंगिएको छैन । नत पार्टीका पदाधिकारी नै चयन हुन सकेका छन् । न संसदीय दलको नेता नै चयन भएको छ । जसका कारण जसपामा भद्रगोल देखिएको छ ।
जसपा फेरि फुट्ने आशंका
प्रधानमन्त्री ओलीकै कारण एक हुने मोडमा पुगेको जसपा फेरि ओलीकै कारण फुटको संघारमा पुगेको विश्लेषण हुँदैछ । पूर्व राजपा पक्ष ओली नेतृत्वको सरकारमा सहभागि बन्ने पक्षमा देखिएको छ भने पूर्व समाजवादी पार्टीका नेताहरु कुनै पनि हालतमा ओली नेतृत्वको सरकारमा सहभागि हुनुहुँदैन भन्ने अडानमा छन् । त्यसले गर्दा जसपा विभाजन हुने त हैन भन्ने आशंका गरिएको छ । जसपालाई जसरी पनि सत्तामा जाने रहर बोकेको पार्टीका रुपमा लिइन्छ ।
प्रधानमन्त्रीमा वार्गेनिङ नगर्ने
जसपाका एक नेताका अनुसार जसपा सरकारमा जाने भएमा उसले प्रधानमन्त्री पदका लागि वार्गेनिङ नगर्ने तर गृह मन्त्रालय सहित बढी भन्दा बढी मन्त्रालयमा दावी गर्नेछ । प्रधानमन्त्रीमा दाबी गर्ने र भोलि त्यो अवस्था आइलागेमा संविधान संशोधनमा दुइ तिहाइको सहमति जुटाउनु पर्नेछ । तर त्यो तत्कालका लागि संभावना छैन ।
भोलि अन्य राजनीतिक दलले प्रधानमन्त्री पाउँदा पनि उसको मुख्य मागका रुपमा रहेको संविधान संशोधन नगरेको भनेर प्रश्न उठाउने र तराइमा जनमत गुम्ने अवस्था आउन सक्ने जसपाको विश्लेषण छ । तसर्थ उसले प्रधानमन्त्रीमा दावी नगर्ने ती नेताको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया