टेकसिंह धामी, धनगढी । सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि प्रहरीले प्रदेशको अस्थायी मुकाम धनगढीमा ’तपाइको मास्क खोइ ?’ अभियान थालेको छ। कोरोनाको जोखिम बढेको भन्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोधका साथ प्रहरीले उक्त अभियान थालेको हो ।
वडा प्रहरी कार्यालय धनगढीले सडकमा हिँडिरहेका सर्वसाधरणहरुलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न अनुरोध गर्न अभियान नै सञ्चालन गरेको हो ।
सामान्य लापरबाहीले पनि कोरोना महामारी फैलिन सक्ने भन्दै सचेत बनाउन अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए ।
यस्तै कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार जिल्ला संकट व्यवस्थापनको बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अहिलेलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया