कोरोना कहरका बिच बैतडी जिल्ला सिडिओविहिन

टेकसिंह धामी, धनगढी । कोरोना सँक्रमण बढीरहेकाबेला बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ । निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो ।

यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन् । कोभिडको दोस्रो लहर भयाभह रुपले बढीरहेका बेला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहने प्रजिअ जिल्लामा छैनन् ।

गृहमन्त्रालयबाट निवर्तमान प्रमुख जिल्ला अधिकारी जोशीको नाममा बैशाख १२ गतेको रमाना पत्र भएपनि गत चैत ३१ गतेनै उनी जिल्लाबाट गएका थिए । काम विशेषले विदा मागेर उनी चैत ३१ गते घर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी जोशीलाई रुपन्देही सरुवा गरेको थियो ।

रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएकोमा जोशीको ठाउँमा गृहमन्त्रालयबाट राजेन्द्र देव पाण्डेय प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आउने भनिएपनि उनी अहिलेसम्म आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार गृहमन्त्रालयबाट नयाँ प्रजिअका रुपमा आउनलागेका पाण्डेय १७ गते मात्रै हाजिर हुने बताइएको छ । अहिले जिल्ला प्रशासनका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी खगेन्द्र भारती निमित्त प्रजिअले गर्ने कामकाजहरु गरिरहेका छन् ।

प्रजिअ नभएपनि कामकाजमा कुनै समस्या नभएको उनले बताए। कोभिड संक्रमण बढीरहेको अवस्थामा स्थानीय सरकारसँग समन्वय गर्नेलगायत अन्य सेवा प्रवाहको सन्दर्भमा कुनै समस्या नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?