काठमाडौं। ‘डि.एफ.बी. पोकाल’ नामले चर्चित जर्मन कपको गए राती खेलिएको दोस्रो सेमीफाइनल खेलमा बोरुसिया डर्टमन्डले होल्स्टेन् किललाई ५-० को भारी अन्तरले पराजित गरेको छ ।
डर्टमन्डको घरेलु मैदान ‘सिग्नल इडुना पार्कमा’ भएको सो खेलमा डर्टमन्डले दोस्रो डिभिजनको किललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
पहिलो हाफको १६औं मिनेटमा जियोभानी रेनाको गोलबाट अग्रता लिएको डर्टमन्डले २३औं मिनेटमा रेनाको व्यक्तिगत दोस्रो गोलबाट अग्रता दोब्बर बनायो ।
कप्तान मार्को रुइसको गोलमा डर्टमन्डले २६औं मिनेटमा नै अग्रतालाई तेब्बर बनाउन सफल भएको थियो। त्यसपछि खेलमा निरिह देखिएको किलले पहिलो हाफमै अरु दुई गोल खान पुग्यो।
३२औं मिनेटमा थोर्गन् हाजार्ड र ४१औं मिनेटमा जुड बलिङघमले गोल गर्दा पहिलो हाफ ५-० ले घरेलु टोलीको पक्षमा गयो।
दोस्रो हाफमा डर्टमन्डले खेलाडी परिवर्तन गर्दै युवा खेलाडीलाई मैदान प्रवेश गरायो। पाहुना टोलीको डर्टमन्डसामु केही चलेन र खेल ५-० ले डर्टमन्डको हातमा गयो।
आजको १२ दिनपछि, मे १४ तारिखमा बर्लिनको ओलम्पियास्टेडियनमा बोरुसिया डर्टमन्ड र आर.बी. लाइपजिग जर्मन कपको उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। लाइपजिग सन् २०१९ को उप-विजेता हो भने डर्टमन्डले सन् २०१७ मा जर्मन कपको उपाधि जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया