काठमाडौं – पछिल्लो समय तीव्र रुपमा बढेको कोरोना भाइरसको संक्रमणका कारण बैंक तथा वित्तीय सेवामा बाधा पुगेको छ ।
बैंकिङ कारोबार गर्न बैंकमा भीडभाड गर्दा कोरोना संक्रमण फैलिने भन्दै नेपाल राष्ट्र बैंकले एक चौंथाई कर्मचारीबाट मात्रै काम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। अरु कर्मचारीहरुले घरबाटै काम गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको यस्तो निर्देशनसँगै अब बैंकिङ सेवा कटौती हुने भएको छ। गत शुक्रबारसम्म सबै शाखाले विहान १० बजेदेखि २ बजेसम्म सेवा दिँदै आएका थिए । तर हरेक दिन जसो कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बढी भीडभाड हुने स्थानका रुपमा रहेको बैंकिङ क्षेत्रको सेवा समय आइतवार (आज) देखि घटाइएको हो।
कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैंकले बैंक तथा वित्तीय क्षेत्र एवं सरकारी कर्मचारीका कारण बढी भीडभाड भएको भन्दै बैंकिङ क्षेत्रमा एक चौथाई शाखामा एक चौथाइ कर्मचारी मात्र राखेर सेवा दिने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । त्यसलगत्तै राष्ट्र बैंकले आज आइतवारदेखि बैंक तथा वित्तीय संस्थाका शाखामा एक चौँथाई कर्मचारी मात्र राखेर सेवा दिने निर्णय गरेको हो ।
कसरी लिने बैंकिङ सेवा ?
कोरोनाको संकटका कारण बैंक सबै शाखा कार्यालय खोल्न नपाएपछि बैंकहरुले शाखा कार्यालयको सम्पर्क व्यक्ति समेत तोक्ने भएका छन् । त्यसका साथै उनीहरुको सम्पर्क नम्बर पनि उपलब्ध गराइने भएको छ । आवश्यक पर्ने ग्राहकले सम्पर्क व्यक्तिलाई फोन गरेर नजिकको शाखा कतिबेला र कहाँ खुल्छ भनेर जानकारी लिइ बैंकिङ कारोबार गर्न सक्नेछन् । त्यस्तै, बैंकले हरेक शाखा कार्यालयको मूल ढोकामा उपलब्ध गराइने सेवाको विस्तृत विवरण सहितको सूचना टाँसिने भएको छ।
डिजिटल बैंकिङ कारोबार गर्न आग्रह
राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म डिजिटल बैंकिङ सेवा लिन गा्रहकसँग आग्रह गरेका छन् । बैंकमा भीडभाड गर्दा कोरोनाको संक्रमण अत्याधिक बढने भन्दै राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबार गर्न आग्रह गरेका हुन् । बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले डिजिट बैंकिङमा बैंकहरुले जोड दिएको बताए ।
अघिल्लो वर्षको फागुनदेखि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण बैंकहरुले निकै न्यून शाखा खोलेर सेवा दिनुका साथै अधिकांश कर्मचारले घरबाटै काम गरेका थिए । त्यसका साथै राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल बैंकिङमार्फत सेवा लिन सर्वसाधारणलाई आग्रह गरेका थिए । साथै बैंकहरुले एटिएम, मोबाइल बैंकिङ, वालेट,लगायतबाट कारोबार गर्दा छुट समेत प्रदान गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया