लुम्बिनीमा एमालेले एकल बहुमतको सरकार बनाउने

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतको सरकार बनाउने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो । बैठकले पोखरेललाइनै पुनः संसदीय दलको नेता तोक्ने निर्णय पनि गरेको छ । पोखरेलले आजै बिहान प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रदेशप्रमुखले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न पोखरेललाई नै जिम्मेवारी दिएका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेशप्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने बताइएको छ ।

कांग्रेस र माओवादीका सांसदले मुख्यमन्त्री पोखरेल बिरुद्ध बैशाख ६ गते अविश्वास प्रस्ताव ल्याएका थिए । त्यसमा छलफल गर्न आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ । बैठक १ बजे बस्ने भनिएपनि बैठक अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि बैठक बस्ने नबस्ने अन्यौल भएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ४१ जना सांसद छन् । जनता समाजवादी पार्टीका ६ मध्ये ४ जनालाई मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव आउने बित्तिकै मन्त्री बनाएका थिए । तर पार्टीको निर्णय बिपरित सरकारमा सहभागी भएको भन्दै जसपाले ४ जनाको सांसद पद खारेज गरेको छ भने माओवादीका २ जना सांसद एमालेतिर गएपछि उनीहरुको पनि पद खारेज भएको छ । अव प्रदेश सभामा ८१ जना सांसद छन् । कांग्रेस,माओवादी,जसपा र जनमोर्चा गरेर बिपक्षमा ४० सांसद मात्रै पुग्छन् । सरकार बनाउन ४१ सांसद संख्या चाहिन्छ । यस कारण पोखरेल एमालेको एकल बहुमतको मुख्यमन्त्री बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?