काठमाडौं। इंग्लिश प्रिमियर लिगमा आज (आइतवार) इंग्लिश फुटबलका दुई ‘महारथी’ म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार राती ९:१५ बजे शुरु हुने सो खेल युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्डमा’ खेलिंदै छ।
फुटबलिङ जगतमा म्यानचेस्टर युनाइटेड र लिभरपुलको दुश्मनी प्रख्यात छ। विश्वव्यापी रूपमा फुटबल प्रेमीहरूले इंग्लिश फुटबलका यी दुई प्रतिद्वन्दीको खेल हेर्न रुचाउँछन्। युनाइटेड र लिभरपुल, क्लबको मात्र होइन, यी दुई क्लबका समर्थकको पनि ‘३६’ को आँकडा रहेको छ।
युनाइटेडका समर्थकले आफ्नो क्लबको २० लिग उपाधि लिभरपुलको १९ उपाधिभन्दा बलियो ठान्छन् भने लिभरपुलका समर्थकले आफ्नो क्लबको ६ युरोपियन कपको उपाधि युनाइटेडको ३ भन्दा महत्वपूर्ण मान्छन्। एक वाक्यमा भन्ने हो भने, यी दुई क्लब इंग्लिश फुटबलका सबै भन्दा ठूला तथा सफल क्लब हुन्।
यस सिजनको कुरा गर्ने हो भने यी दुई क्लब आ-आफ्नै डुङ्गामा छन्। म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनल यात्रा तय गर्ने क्रममा छ भने लिभरपुल आफ्नो डुङ्गा डुब्नबाट बचाउँदै छ।
गत संस्करणको लिग विजेता लिभरपुलको यो सिजन बिर्सनयोग्य रह्यो। ‘टप ४’ पनि धौधौ देखिरहेको बेला युनाइटेडको चुनौती लिभरपुलको लागि गार्हो सावित हुनेछ। उता युरोपा लिगको पहिलो सेमीफाइनल खेलमा रोमा विरुद्ध आफ्नो घरेलु मैदानमा आधा दर्जन गोल गर्न सफल भएको युनाइटेडले ‘आउट अफ फर्म’ लिभरपुललाई खुल्ला दिलले स्वागत गर्नेछ।
पछिल्ला ५ प्रिमियर लिग खेलको नतिजा हेर्ने हो भने लिभरपुलले युनाइटेडमाथि २ खेलमा जित हासिल गरेको छ भने ३ खेल बराबरीमा सकिएका छन्।
तर, आजको समय फरक छ र फरक छन् यी दुई टोलीको परिस्थिति। म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा बलियो देखिन्छ भने लिभरपूल छैटौं स्थानमा पनि सुरक्षित छैन। यदि लिभरपुलले आज युनाइटेडलाई पराजित गरेको खण्डमा म्यानचेस्टर सिटीले स्वतह उपाधि जित्ने छ। म्यानचेस्टर युनाइटेड यस्तो भएको कदापि हेर्न चाहँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया