काठमाडौं। खुकरी नेपाल सुपर लिगमा आज (आइतवार) सम्पन्न एकमात्र खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेल खेलेका छन्।
दुबै टोलीको खेल प्रतिस्पर्धात्मक भएता पनि खेलमा गोलको खडेरी भएको देखियो। पहिलो हाफमा पोखराले केही राम्रो ‘बिल्डअप’ गरेपनि बलले गोलको दिशा लिन सकेन।
दोस्रो हाफको ललितपुरको कहानी त्यस्तै रह्यो। आफ्नो पहिलो जित निकाल्न दवाबमा परेको ललितपुरले केही डरलाग्दा मौकाहरुको सिर्जना गरेको थियो। तर गोलको अभावका कारण मुख्य प्रशिक्षक प्रदीप हुमागाँई निराश देखिन्थे।
खेलमा दुबै टोलीले सुवर्ण अवसरहरू गुमायो। अझै भन्नुपर्दा दुवै टोलीका कप्तानले पनि सुनौलो मौका गुमाउँदा खेल गोलविना नै टुंगियो।
यसका साथै ललितपुर सिटी एफसीको पहिलो जितको पर्खाइ लम्बिएको छ। ४ खेलमा ३ अंक सहित ललितपुरका लाखे छैटौं स्थानमा छन्। पोखराले भने २ खेलमा बराबरीको नतिजा निकाले पनि १ जितका साथ तेस्रो स्थानमा छ।
आजको खेलको ‘म्यान अफ दि म्याच’ ललितपुरका प्रवेश कुँवर ठहरिए भने ‘इमरजिङ प्लेयरमा’ पोखराका आयुष घलान चुनिए।
एनएसएलमा भोलि चितवन र विराटनगर भिड्दै छन्। ललितपुर जस्तै चितवन पनि आफ्नो पहिलो जित खोज्दै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया