काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतवार) खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले सन्राईजर्स हैदराबादलाई ५५ रनले पराजित गरेको छ। भर्खरै आफ्नो कप्तान डेभिड वार्नरलाई बर्खास्त गरेर केन विलियमसनलाई कप्तानीको जिम्मा दिएको हैदराबादले दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
हैदराबादका लागि खलनायक सावित भए राजस्थानका ओपनर ब्याट्सम्यान जोस बटलर। बटलरले ६४ बलमा १२४ रनको शतकीय पारी खेल्दा राजस्थानले निर्धारित २० ओभरमा २२० रनको भव्य योगफल तयार पार्यो। ११ चौका र ६ छक्का प्रहार गरेका ‘म्यान अफ दि म्याच’ बटलरले कप्तान सञ्जु स्यामसनको साथ पाएका थिए। सञ्जुले पनि ४८ रनको योगदान दिए।
जवाफमा पूर्व कप्तान वार्नर बिना ब्याटिङमा उत्रेको हैदराबादको टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १६५ रन जोड्न सक्यो। हैदराबादका लागि ओपनरद्वय मनिश पाण्डे र जोनी बेरस्टौले क्रमशः ३१ र ३० रन जोडे। नयाँ कप्तान विलियमसनको ब्याटबाट मात्र २० रनको योगदान आयो।
यो जितसँगै राजस्थान अंक तालिकाको ५औं स्थानमा उक्लिएको छ भने हैदराबादको लयमा केही फरक देखिंदैन। ७ खेलमा मात्र १ जित सहित हैदराबाद अन्तिम स्थानमा यथावत नै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया