एनएसएल : विराटनगर शीर्ष स्थानमा उक्लियो, चितवनको भाग्यमा फेरि अर्को हार

काठमाडौं।   नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र विराटनगर सिटी एफसी बिचको खेलमा विराटनगरले २-० को जित निकालेको छ। खेलको दोस्रो हाफमा उप-कप्तान पेड्रो मञ्जी र सन्तोष तामाङले उत्कृष्ट गोल गर्दा चितवन स्तब्ध भएको हो।

पहिलो गोलको लागि ७३औं मिनेटमा फ्रिकिकमा आएको बललाई पेड्रो मञ्जीले छातीले नियन्त्रण गरेर उत्कृष्ट ‘हाफ भली’ प्रहार गर्दा चितवनका गोलरक्षक विशाल सुनारले गोल रोक्ने कुनै मौका पाएनन्। पेड्रोले १८ यार्ड बाहिरबाट प्रहार गरेको शानदार ‘लेफ्ट फुटेड शटले’ सिधै गोलको ‘राईट टप कर्नर’ चुम्यो।

विराटनगरको लागि दोस्रो गोल सन्तोष तामाङले दिलाए। उनले आजपनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भए। बुटवलविरुद्धको खेलमा इन्जुरी समयमा गोल गरेर आफ्नो टोलीलाई हारबाट जोगाएका तामाङले आजको खेलको ८९औं मिनेटमा विराटनगरको लागि दोस्रो गोल गरे। उनले ‘डी-बक्स’ बाहिरबाट उत्कृष्ट ‘लेफ्ट फुटेड शट’ प्रहार गरे। चितवनका गोलरक्षक विशाल सुनार पुरै तन्केर ‘डाइभ’ गर्दा पनि तामाङको प्रहार रोक्न सकेनन्।

एफसी चितवनले खेल नराम्रो खेलेको भने होइन। चितवनले खेलमा कुल ११ शट प्रहार गरेको थियो जसमा ४ शट ‘अन टार्गेट’ पनि थिए। तर सधैंको कहानी चितवनको लागि फेरि दोहोरियो र गोलको खडेरी कायमै रह्यो।

उता विराटनगर भने यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा ७ अंक सहित विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको हो। ७ अंक सहित धनगढी एफसी बराबरीमा रहे पनि धनगढीमाथि विराटनगरले जित निकालेको हुँदा ‘हेड टु हेड’ मार्फत विराटनगरले शीर्ष स्थान ओगटेको छ। विराटनगरको गोल डिफरेन्स पनि धनगढीभन्दा राम्रो रहेको अवस्था छ।

फेरि जितविहिन भएको चितवनलाई शीर्ष ४ को यात्रा निकै अप्ठ्यारो देखिएको छ। प्रशिक्षक मेघराज केसीको भयिश्यमा पनि ठूलो प्रश्न चिन्ह लागेको छ। ४ खेलमा मात्र २ अंक सहित चितवन लिगको अन्तिम स्थानमा अडिग देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?