काठमाडौं । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मङ्गलवारर दिउँसोसम्ममा सक्रिय संक्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।
भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।
अस्पतालमा शैया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् ।
खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया