आईसीसी ‘प्लेयर अफ दि मन्थ’ मा कुशल भुर्तेल मनोनित

काठमाडौं ।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अप्रिल महिनाको उत्कृष्ट पुरुष खेलाडीमा नेपालका कुशल भुर्तेल मनोनित भएका छन्।

पाकिस्तानका कप्तान बाबर आजम र अर्का पाकिस्तानी ब्याट्सम्यान फक्हर जमानसँगै नेपालका २४ वर्षीय ब्याट्सम्यान कुशल भुर्तेल मनोनित भएका हुन्।

भुर्तेलले गत महिना काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-ट्वेन्टी प्रतियोगिताको ५ खेलमा ४ मा अर्धशतक प्रहार गरेका थिए। नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सो प्रतियोगिता नेपालले जितेको थियो। भुर्तेल उक्त प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ पनि घोषित भएका थिए।


आईसीसीले गत जनवरी महिनादेखि ‘प्लेयर अफ दि मन्थ’ को पुरस्कार दिन थालेको हो। यसको विजेताको टुङ्गो भोटिङको माध्यमबाट हुने गरेको छ।
कुशल भुर्तेल यस पुरस्कारको मनोनयनमा पर्ने पहिलो नेपाली खेलाडी हुन्। यसअघि जनवरी, फेब्रुवरी र मार्च महिनाको पुरस्कार क्रमशः भारतका ऋषभ पन्त, रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारले जितेका थिए।

कुशलले यदि बाबर र फक्हरलाई हराएको खण्डमा पुरुषतर्फको विधामा यो पुरस्कार जित्ने नेपाल दोस्रो राष्ट्र हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?