काठमाडौं – हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ । कोरोना भाईरसको दोस्रो लहर तुलनात्मक रुपमा बढ्ता जोखिमपूर्ण र तीव्र दरमा बढीरहेका कारण चिकित्सकले कोरोना संक्रमितका लागि सकभर अवस्था हेरेर घरकै आइसोलेसन राम्रो हुने तर स्वास्थ्यमा समस्या असजिलो महशुस भएमा तुरुन्त अस्पताल जान सुझाव दिएका छन् । यसैपनि हाल नेपालका सरकारी तथा निजी अस्पतालहरु संक्रमितले खचाखच भरिएका छन् ।
कोरोनाको दोस्रो लहर तिव्र भएसँगै बढेको उच्च संक्रमणदरका घटनासँग अन्य उपक्रम पनि जोडिएर आएका छन् जस्तो कि एम्बुलेन्समा बिरामी घुमाउँदा घुमाउँदा मृत्युवरण गर्नुपरेको, अक्सिजनको चरम अभाव झेल्नुपरेको, बेडको अभाव, उपचारको नाममा अस्पतालले उठाएको अचाक्ली शुल्क, संक्रमणपछि संक्रमित र परिवारमा भएको अन्यौलता, होम आईसोलेसन बसेका संक्रमितले आत्महत्याजस्तो कठोर निर्णय लिएको घटना लगायतका खबर बारम्बार दोहोरिरहेका छन् । त्यसैले लोकपथ डटकमले चिकित्सकले दिएका विभिन्न उपाय र सुझावहरु संकलन गरेर यहाँ प्रस्तुत गरेको छ ।
यदि तपाईको परिवारमा कसैलाई कोरोना संक्रमण भईहालेमा के गर्ने ?
दोस्रो लहरको संक्रमणले जटिल किसीमका समस्या सिर्जना गर्ने भएतापनि केहि संक्रमितलाई सामान्य लक्षणबाहेक अर्थोक नदेखिएको बताउँदै हालको विषम परिस्थितीमा अपरिहार्य अवस्था नभई अस्पताल नजान अनुरोध गरेका छन् । त्यसैले सामान्य अवस्था छ भने घरमा नै आईसोलेसन बसौँ । अन्य रोगहरुको नियमित जाँचपड्तालका क्रममा अस्पताल जानैपर्ने अवस्था आउँदा वा कुरुवा बस्नुपर्ने परिस्थितीमा उच्च सावधानी अपनाउनुपर्छ।
सामान्य किसिमका रोगको उपचार गर्नको लागि हालको अवस्थामा अस्पताल नजाऔँ । तर चिकित्सकसँग भर्चुअल माध्यमबाट सम्पर्क गरी आवश्यक सल्लाह लिएर घरेलु र भान्सामा उपलब्ध औषधिजन्य कुराहरुको सेवन गरौँ ।
अस्पताल जानैपर्ने स्थिती आएमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर मात्रै जाऔँ ।
अस्पताल परिसरमा बस्ने, घुमफिर गर्ने, धेरै मानिसहरुको सम्पर्कमा जाने नगरौँ।
यदि बिरामी कुरुवा हुनुहुन्छ भने आफूले खाना खाने स्थान र त्यहाँ सुरक्षाका सावधानी अपनाए नअपनाएबारे हेक्का राखौँ ।
आफ्ना बिरामीलाई अनिवार्य मास्कको प्रयोग गर्न दिऔँ । आफूले पनि अनिवार्य मास्क र पन्जाको प्रयोग गरौँ ।
आफू अस्पताल गएको मिती टिपेर राखौँ ।
अस्पताल परिसरका एटिएम, बैकमा जाँदा निकै सावधानी अपनाउनुहोस् । रुपैयाँ पैसा छोएपछि अनिवार्य साबुनपानीले हात धुने र सेनिटाईज गर्न भुल्नु हुँदैन ।
अस्पतालमा औषधि पसलमा पनि गईरहनुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा धेरै मानिसको सम्पर्कमा रहने ति पसलहरुमा पनि कोरोना भाईरसको स्पट बनेका हुनसक्छन् । त्यसैले स्वास्थ्य सुरक्षाका सावधानीहरु पूर्णरुपमा पालना गर्नुहोस् ।
कोभिडका बिरामीलाई एकैपटक आवश्यक सामान पुर्याउनुपर्छ । पटकपटक अस्पताल परिसर पसल गईरहनु उचित हुँदैन ।
अस्पतालमा बिरामीको अत्याधिक चाप र बढ्दो कोरोना संक्रमणका कारण चिकित्सहरु डाक्टर नर्स अधिक नै दबाबमा रहन्छन् । धेरैजना बिरामी र संक्रमित हेर्नुपर्ने भएकोले उनीहरुले पिपिईको प्रयोग गरेका हुन्छन् । यस्तो अवस्थामा कोरोना भाईरस पिपिईको बाहिर भागमा रहेको पनि हुनसक्दछ । त्यसैले चिकित्सकसँग बिरामी कुरुवाले केहि भौतिक दूरी कायम गरेर भेटौँ वा आफ्नो बिरामीको बारेमा जानकारी लिऔँ ।
बिरामी भेटेर घर गएपछि वा बिरामीको डिस्चार्जपछि घर लैजाँदा राम्ररी डिस्ईन्फेक्टेड मेडिसिन छर्केर मास्कको प्रयोग गरी, सेनिटाईजरको प्रयोग गरेर र अस्पताल बस्दा प्रयोग गरेका लुगाफाटो, भाँडाकुँडा तातोपानीले राम्ररी धोई पखाली राख्नुपर्छ। यदि कोरोना भाईरससँग मिल्दाजुल्दा लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिई नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ ।
यदि तपाईको उठबस र सम्पर्कमा रहेका व्यक्तिमा कोरोना भाईरस संक्रमण देखिएमा सेल्फ आईसोलेसनमा बस्नुहोस् ।
घरमै आइसोलेसन बनाउँदा यी कुरा विचार गर्नुहोस् :
-हावा ओहोरदोहोर गर्ने तर छुट्टै एक कोठा र शौचालय प्रयोग गर्नुहोस्
-आईसोलेसन बस्दा उच्च मनोबलका साथ रहनुपर्छ ।
-नियमित सन्तुलित शुद्ध र सफा खानेकुरा, पोषणयुक्त खानपान, प्रशस्त पानी र झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।
-ध्यान, योगा शारिरीक अभ्यास निरन्तर गर्नुहोस् ।
-प्रशस्त आराम गर्नुहोस् ।
-आफूलाई मन परेका किताब पढ्नुहोस् । फिल्म हेर्नुहोस् । महत्वपूर्ण कुराहरु टिपोट गर्नुहोस् ।
-भर्चुअल माध्यमबाट आफ्ना मानिसहरुसँग जोडिनुहोस् ।
-सामाजिक सञ्जाल र अफवाहबाट टाढै रहनुहोस् ।
भिडियोमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया