काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप विश्वास योग्य नभएको बताएको छ ।
चिनियाँ कम्पनीहरुले उत्पादन गरेका खोपहरु परीक्षणपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको टिप्पणी गरेका हुन्।
डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्नसक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको बताए।
डब्लूएचओका अनुसार सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।
बेइजिंगस्थित सिनोफार्मले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ ।
सिनोफार्म खोपको प्रभावकारिता मूल्यांकन डब्लूएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले गरेको हो । यसका लागि सिनोफार्मले उपलब्ध गराएको परीक्षण नतिजाहरु, ४५ राष्ट्रहरुले आपतकालिन प्रयोगको अनुमति दिँदा गरेका अध्ययन प्रतिवेदनहरु र मानिसहरुको यसले पारेको प्रभावका विषयमा अध्ययन गरिएको छ ।
हालसम्म ६५ मिलियन सिनोफार्म खोप लगाइसकिएको पाइएको छ । कोरोनाविरुद्धको यो खोप लगाइसकेपछि केहीको मृत्यु भएको र केहीलाई पुनः कोरोना देखिएपछि विश्वमा चिनियाँ खोपमाथि प्रश्न उठेको थियो ।
कोरोनाविरुद्धको चिनियाँ खोप सिनाफार्म लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई नै कोरोना भएपछि यो विश्व बहसको विषय बनेको हो । तर, चीनले भने यस खोपमा कुनै साइड इफेक्टहरु नभएको र मृत्यु हुनुको कारण खोप नै भएको भन्ने यकिन भइ नसकेको जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया