एनएसएल : ललितपुरको पहिलो जित

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बिहीवार) खेलीएको पहिलो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा अपरान्ह २:३० बजे शुरु भएको सो खेलमार्फत ललितपुरले यस प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको हो।

पहिलो हाफको ५औं मिनेटमा नै ललितपुरले खेलमा अग्रता लिन सफल भयो। कप्तान अन्जन विष्टको हेडर पासलाई अजरबैजान तथा ललितपुरका खेलाडी नुर्लन नुभ्रुर्जोभले डाइभिङ हेडर मार्फत गोल गर्न सफल भएका थिए।

खेलको अधिकांश समय ललितपुरले बलमा हैकम जमाएर बुटवललाई फुटबल खेल्न गार्हो अवस्था सिर्जना गरेको थियो। फल स्वरूप बुटवलले खेलको ९० मिनेटमा आफ्नो एउटा पनि प्रहार पनि टार्गेटमा राख्न सकेन।

भर्खरै आफ्नो मुख्य प्रशिक्षक प्रदिप हुमागाँईलाई बर्खास्त गरेको ललितपुरले प्रशिक्षणको जिम्मेवारी राजु तामाङलाई सुम्पिएको थियो।

तामाङले आफ्नो पहिलो खेलमै ललितपुरलाई महत्वपूर्ण जित दिलाए। यो जितसँगै ललितपुरको प्लेअफको संभावना जिवित रहेको छ। ललितपुर अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ। ललितपुरको ५ खेलमा ६ अंक रहेको छ।

उता बुटवल भने आजको पराजयसँगै पाँचौं स्थानमा झरेको छ। बुटवलको ५ खेलमा ५ अंक रहेको छ। बुटवलको आजको पराजयसँगै प्लेअफको यात्रा रोमाञ्चक मोडमा पुगेको छ।

खेलमा ललितपुरका अन्जन विष्ट र मिक्छेन् तामाङ क्रमशः ‘म्यान अफ दि म्याच’ र ‘इमर्जिंग प्लेयर’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?