काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीमाथि ५-४ गोलको रोमाञ्चक जित निकालेको छ। दशरथ रंगशालामा भएको सो खेलमा कुल ९ गोल भए। यस प्रतियोगिताकै सर्वाधिक गोल भएको खेल आज काठमाडौंको पक्षमा गयो।
खेलको ५औं मिनेटमा विराटनगरले अग्रता लियो। कप्तान रञ्जित धिमालको क्रसमा एडिलाजा सोमिडेले काठमाडौंका कप्तान तथा गोलरक्षक विकेश कुथुको टाङ्गमुनिबाट गोल गर्न सफल भए। विराटनगरको अग्रता ३३औं मिनेटमा दोब्बर भयो। विराटनगरका उप-कप्तान पेड्रो मेन्जीले अफसाइड ट्रयाप बिट गर्दै गोल प्रहार गर्दा विराटनगरको अग्रता दोब्बर भयो।
त्यसको २ मिनेट पनि नबित्दै काठमाडौं खेलमा फर्कियो। मिसौके ओलोमोउको प्रहारले विराटनगरका गोलरक्षक किशोर गिरीलाई लाग्दै जाली चुमेपछि काठमाडौं खेलमा फर्कियो।
त्यसको १ मिनेट पनि नबित्दै ओलोमोउले व्यक्तिगत दोस्रो गोल गरे। उनले मैदानको बायाँ भागबाट गरेको क्रस मिसहिट हुँदै सिधै गोल्पोस्ट भित्र छिर्दा काठमाडौंले खेलमा २-२ को बराबरी गर्यो।
पहिलो हाफको केही समय बाँकि रहँदा काठमाडौंले खेलमा अग्रता लिन पुग्यो। स्टेफन विनोङले उत्कृष्ट फ्रिकिक गोलमार्फत काठमाडौंलाई अग्रता दिलाए।
खेलको पहिलो हाफमा नै ५ गोलको बरसात भइसकेको थियो। तर यो सिलसिला खेलको दोस्रो हाफमा पनि जारी नै रह्यो। खेलको ६८औं मिनेटमा ओलोमोउले आफ्नो ह्याट्रिक पूरा गरे। उनले डि-बक्स भित्रबाट गरेको प्रहारले गोलको टप कर्नर चुम्दा, काठमाडौंको अग्रता खेलमा दोब्बर भयो।
यसका साथै ओलोमोउ नेपाल सुपर लिगमा ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी पनि बन्न पुगे।
७८औं मिनेटमा विराटनगर खेलमा फर्कियो। कप्तान रञ्जित धिमालको सोलो गोलमार्फत विराटनगर खेलमा फर्कियो।
तर ८२औं मिनेटमा काठमाडौंले आफ्नो २ गोलको अग्रता फेरि कायम गर्यो। छिरिङ गुरुङको उत्कृष्ट सोलो गोल मार्फत काठमाडौंको अग्रता दोब्बर भएको हो।
खेलको ९० मिनेटको समय सकिएपछि इन्जुरी समयमा विराटनगरका पेड्रो मान्जीले विराटनगरको चौथो तथा आफ्नो व्यक्तिगत दोस्रो गोल गरे।
पेड्रोको गोलले विराटनगरलाई हारबाट भने जोगाउन सकेन। एनएसएलको पहिलो संस्करणको यो सबैभन्दा रोमाञ्चक तथा अप्रत्याशित खेल रह्यो भन्दा गलत हुँदैन।
यस जित सहित काठमाडौंले ५ खेलमा १० अंकका साथ अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ। काठमाडौं दोस्रो स्थानमा पनि उक्लिएको छ।
विराटनगर भने यो हारसँगै तेस्रो स्थानमा झरेको छ। ५ खेलमा ७ अंक सहित विराटनगरको प्लेअफ यात्रा अझै जिउँदो रहेको छ।
आजका ह्याट्रिक हिरो ओलोमोउ खेलका ‘म्यान अफ दि म्याच’ घोषित भए। काठमाडौंकै विश्वास श्रेष्ठ ‘इमर्जिङ प्लेयर’ चुनिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया