काठमाडौं। युईएफए युरोपा लिग २०२१ को दुई फाइनालिस्ट पक्का भएका छन्। इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल यस संस्करणको यूरोपा लिग फाइनल प्रवेश गरेका छन्।
गए राती खेलिएका दुई सेमीफाइनल खेलका दोस्रो लेगमा रोमाले म्यानचेष्टर युनाइटेडलाई ३-२ गोलले पराजित गरेको थियो। त्यस्तै भिल्लारियल र आर्सनलले गोल रहित बराबरी खेलेका थिए।
रोमाका लागि एडिन जेको र ब्रायन कृष्टान्टेले १-१ गोल गरेका थिए। त्यस्तै अर्को एक गोल म्यानचेष्टर युनाइटेडका डिफेन्डर एलेक्स टेलेसमार्फत आत्मघाती गोलको रूपमा आएको थियो। पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले रोमालाई घरेलु मैदानमा ६-२ गोल अन्तरले पराजित गरेको थियो। त्यसै कारण रोमाको ३ गोलले पनि म्यानचेष्टर युनाइटेड को ६ गोललाई पछि पार्न सकेन। अझै युनाइटेडका स्ट्राइकर एडिनस्न काभानीले गए रातीको खेलमा पनि व्यक्तिगत २ गोल गर्दै समग्रमा युनाइटेडलाई ८-५ को जित दिलाए।
त्यस्तै अर्को खेलमा स्पेनिश क्लब भिल्लारियलले आर्सनललाई समग्रमा २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। गए राती आर्सनलको घरेलु मैदान एमिरेट्समा भएको खेलमा भने आर्सनल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। आफ्नो भूतपूर्व प्रशिक्षक ऊनाई एमेरी विरुद्ध आर्सनलले घरेलु मैदानमा जित निकाल्न नसकेको हो। आर्सनललाई कम्तीमा पनि १-० को जितको आवश्यकता थियो।
तसर्थ २०२१ को युईएफए युरोपा लिगका दुई फाइनालिस्ट टोली म्यानचेष्टर युनाइटेड र भिल्लारियल रहेका छन्। ‘मे २६’ मा पोल्यान्डको दांस्कमा यी दुई टोली बिच प्रतिस्पर्धा हुनेछ। म्यानचेस्टर युनाइटेडले यस अघि सन् २०१७ मा युरोपा लिगको उपाधि चुमेको थियो। प्रशिक्षक जोसे माउरिन्होले युनाइटेडलाई सो उपाधि दिलाउन सफल भएका थिए।
उता उनाई एमेरीले भने सन् २०१४, २०१५ र २०१६ मा लगातार युरोपा लिग उपाधि जितेर कीर्तिमान रचेका थिए। एमेरीको अन्तिम युरोपा लिग फाइनल भने सन् २०१९ मा आर्सनलका लागि थियो। सो खेलमा आर्सनल चेल्सीसँग ४-१ गोलले पराजित भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया