काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र अहिलेसम्म कुनै सहमती नभएको बताएका छन् । आफूहरुले सुदृढ एमाले चाहेकाले फागुन २८ गतेपछिका सबै निर्णयहरु खारेज गर्नका लागि समेत आग्रह गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले २०७५ साल जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै आफूहको बटमलाईन भएको बताए ।
उनले भने- ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’
त्यस्तै हालसम्म कुनै पार्टी पंक्तिबाट कुनै किसिमको सहमतीको प्रयास नभएको समेत उनको भनाइ रहेको छ । आफूहरुलाई कारवाही गर्ने पार्टीको निर्णयहरु समेत फिर्ता लिन माग गर्दै भ्रममा नपर्न, नअल्मलिन र सुदृढ पार्टी बनाउनका लागि आग्रह समेत गरे । उनले भने- ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका छन् । तर पार्टी भित्रकै नेपाल पक्षले समेत सहयोग नगर्ने देखिएको छ । यसैबीच सञ्चार माध्यममा भने नेपाल पक्षले समेत ओलीलाई विश्वासको मत दिने भन्ने हल्लाकाबीच नेता नेपालले भ्रममा नपर्न भन्दै त्यस्तो बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया