प्रयोगविहीन अक्सिजन सिलिण्डर संकलन गरिँदै

काठमाडौं । मुलुकभर अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला संघ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पुर्‍याउन थालेको छ ।

केही अघि मात्रै अक्सिजन उद्योगको निगरानीको जिम्मा पाएको नेपाल प्रहरीले दुरुपयोग हुन नदिन र प्रयोगविहीन सिलिण्डरको खोजी गरी अस्पतालमा पुर्‍याउन थालेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। सोही क्रममा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन १५९ अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ ।

उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोही क्रममा ललितपुर प्रशासन प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विभागले अक्सिजन प्लान्टको अनुगमनसमेत थालेको जनाइएको छ । स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । मुुलुकका अन्य जिल्लामा पनि अक्सिजन सिलिण्डरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अक्सिजन उत्पादक संघले नेपालमा अक्सिजनको अभाव नभएको तर सीमित रहेकाले सिलिण्डरको अभाव भएको जनाउँदै आएको छ । अहिले मानिसहरुले घरमै सिलिण्डर ‘स्टक’ राख्दा समस्या भएको संघले जनाएको छ ।

सिलिण्डरको अभाव पूर्ति गर्न सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । पछिल्लो समयमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको घटनासमेत सार्वजनिक भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?