संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको माग (विज्ञप्तिसहित)

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले समेत नजाने घोषणा गरिसकेको अवस्थामा बैठक स्थगित गर्न माग गर्दै अन्य परिषद् सदस्यलाई समेत बैठकमा भाग नलिन आग्रह गरे ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्- ‘प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रहग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

अध्यक्ष प्रचण्डले सरकारले पटक पटक संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रर्दशन गरेको आरोप समेत लगाएका छन् ।

‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदशृन गर्दैछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?