तुलसीपुर । दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । कारागारका नायब सुब्बा जोखिम ओलीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन् ।
बेलुका खाना खाएर सुतेका उनी आज बिहान हेर्दा मृतावस्थामा रहेको ओलीले बताए । “बेलुका खाना खाएर सुत्नुभएको थियो, त्यसपछि राति एकपटक उठेर शौचालय गएको र त्यतिबेला ड्युटीमा खटिएका व्यक्तिले सोध्दा गर्मी महसुस भएको भन्नुभएको थियो”, ओलीले भने, “बिहान उठ्दा मृत फेला पर्नुभयो ।”
शवलाई कारागारमा राखिएको छ । सल्यानबाट आफन्त आउन लागेको भन्दै उनीहरु आएपछि मात्रै आफन्तलाई देखाएर शवपरीक्षण गर्न लैजाने ओलीले बताए ।
उनले विसं २०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया