ला-लिगा : रियल मड्रिड र सेभिया भिड्दै, जित निकाल्दै शीर्ष स्थानमा पुग्ने रियलको दाउ

काठमाडौं ।  स्पेनिस ला-लिगा फुटबलमा सोमवार साविक विजेता रियल मड्रिड र सेभिया भिड्दै छन् । रियलको अस्थायी घरेलु मैदान ‘एल्फ्रेडो डी स्टेफानौ’मा हुने दुई टीमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ।

त्यसमा रियल जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न चाहन्छ । यसका साथै रियललाई शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ । गए राती बार्सिलोना र एथ्लेटिको मड्रिडले समान १-१ अंक बांडेपछि रियल मड्रिडको उपाधि आशा अझै बाक्लो भएको छ।

गत साता युईएफए च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलबाट बाहिरिएको रियल ला-लिगामा भने गत डिसेम्बर महिना देखि अनबिटन् रहेको अवस्था छ। च्याम्पियन्स लिगको दुःख भुलाउँदै साविक विजेता रियलले घरेलु लिगमा भने सफलता खोज्नेछ।

ला-लिगाको उपाधि रेस एकदम रोमाञ्चक स्थितीमा पुगेको बेला सोमवारको खेलमा ‘लस ब्लानकोस’को टोली जितको लागि मैदानमा उत्रने छ। पछिल्ला चार खेलको नतिजाले पनि यही बताउँछ, रियलले सेभियामाथि हरेक पटक जित निकालेको छ।

तर, बलियो टिम सेभियाविरुद्ध जित निकाल्न रियललाई सहज भने छैन । सेभियाले यो सिजन ३४ खेलमा २२ मा जित निकालेको छ। जसमा मार्च १४ देखि अप्रिल २५ सम्मको अन्तरालमा सेभियाले ८ खेलमा ७ मा जित निकालेको अवस्था थियो। आफ्नो पछिल्लो खेलमा एट्लेटिको बिलबाओसँग घरेलु मैदानमा १-० को हार भोगेको सेभिया ७० अंकका साथ चौथौं स्थानमा बलियो देखिन्छ।

तथ्याङ्क अनुसार जाने हो भने सेभियालाई आजको खेल निकै चुनौतीपूर्ण हुनेछ। सेभियाको टोलीले रियलको घरेलु मैदानमा निकालेको पछिल्लो जित सन् २००८ को डिसेम्बरमा रहेको छ।

पूर्व रियल मड्रिडका म्यानेजर जुआन लोपितिगुईको प्रशिक्षणमा रहेको सेभियाको टोलीले सबै तथ्याङ्क विपरीत आजको खेलमा जितको लागि मैदान प्रवैश गर्ने छ।

अहिले ३५ खेलमा ७७ अकं सहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने ३४ खेलमा ७४ अकं सहित रियल तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?